तस्विर : नमो अनलाइन
बर्जु । सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोल नजिकै नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

बुधबार बिहान करिब २:४५ बजेको समयमा सीमा इलाकाबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा अन्दाजी १६० केजी (६ पोका) तयारी गाँजा नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नन्द किशोर प्रसाद महतोको कमाण्डमा खटिएको ५ सदस्यीय टोली र बिओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिल कुमार माझीको नेतृत्वमा खटिएको अर्को ५ सदस्यीय टोलीले संयुक्त रूपमा मोबाइल गस्ती सञ्चालन गरेको थियो।
गस्ती टोलीलाई देख्ने बित्तिकै गाँजा बोकेका व्यक्तिहरू सामान छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा हाल सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवामा राखिएको छ। कानुनी प्रक्रिया पूरा गरी फरार व्यक्तिहरूको खोजी गर्न तथा घट्नाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्वाका प्रमुख प्रहरी नायब उपरीक्षक (SP) श्याम कुमार कार्कीले बताउनुभयो।
उनले पछिल्लो समय लागुऔषध ओसारपसारका गतिविधि बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी र गस्तीलाई थप कडाइ गरेको जनाएको छ।
प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि स्थानीयवासीसँग सहकार्य गरी सूचना संकलन र निगरानीलाई अझ प्रभावकारी बनाउने तयारीसमेत गरेको बताउनुभयो।
