०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

सुनसरीबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, बैशाख ०९, २०८३

तस्विर : नमो अनलाइन

इनरुवा । सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लौकही, लागूऔषध नियन्त्रण व्यूरो विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले छुट्टाछुट्टै कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिति २०८३ वैशाख ९ गते साँझ ५:३० बजे भोक्राहा नरसिंह गाउँपालिका–३ फूल चोकमा दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका इनरुवा नगरपालिका–२ का २२ वर्षीय सैफ अली सिदिकीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने २० ग्राम पदार्थ बरामद गरिएको थियो।

त्यसैगरी सोही दिन साँझ ६:०० बजे कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेका बराहक्षेत्र नगरपालिका–६ का २१ वर्षीय हरि बहादुर श्रेष्ठलाई जाँच गर्दा ०.५३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुवै घटनामा बरामद गरिएको लागूऔषधको कुल परिमाण २०.५३ ग्राम रहेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव कुमार थेवेले बताए।

error: Content is protected !!