तस्विर : नमो अनलाइन
बिराटनगर । सुनसरी जिल्लाको कोशी गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक तथा गाउँपालिकाकै पुरानो विद्यालयमध्ये एक श्री कोशी माध्यमिक विद्यालयमा नयाँ चार कोठे विद्यालय भवन तथा शौचालय निर्माण कार्यको शिलान्यास गरिएको छ।
कोशी गाउँपालिकाको पूर्ण लगानी तथा बजेट सहयोगमा सञ्चालन हुन लागेको उक्त योजनाको शिलान्यास गाउँपालिका अध्यक्ष अयुब अन्सारीद्वारा गरिएको हो।
यसअघि पनि सोही विद्यालय परिसरमा गाउँपालिकाकै बजेटबाट चार कोठे भवन निर्माण भइसकेको छ। पुनः नयाँ संरचना थपिएसँगै विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
आयोजना सम्बन्धी विवरणअनुसार “Construction of Four Room School Building and Toilet at Koshi Ma. Bi., Ward No. 2” नामक योजनाको सम्झौता रकम रु. ६० लाख ८० हजार ४ सय ८६ रुपैयाँ ४५ पैसा (भ्याट बाहेक) रहेको छ। निर्माण कार्यको जिम्मा एलिसा निर्माण सेवा ले पाएको छ।
श्री कोशी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोसाई यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष अयुब अन्सारीको उपस्थिति रहेको थियो।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादव, वडा नं. २ का वडा अध्यक्ष ध्यानी उराउँ, वडा नं. ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी, वडा नं. ५ का वडा अध्यक्ष शाह जमाल उर्फ भोला मियाँ, स्थानीय युवा नेता मनोज साह, विद्यालयका प्रधानाध्यापक नागेश्वर साह लगायतको सहभागिता रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोसाई यादवका अनुसार शिक्षा क्षेत्रमा प्राथमिकता राख्दै कोशी गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ, जसले आगामी पुस्ताको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
साथै विद्यालयको आवश्यकता र भौतिक संरचनाअनुसार एक मन्दिर समेत व्यवस्थित रूपमा निर्माण गरिदिन पालिकासमक्ष माग गरिएको उनले बताए।