तस्विर : नमो अनलाइन
बिराटनगर । सुनसरीको इनरूवा नगरपालिका–५ मा रहेको शारदा माध्यमिक विद्यालयको नाममा दर्ता भएको सरकारी जग्गा अतिक्रमण गरी निजी व्यवसाय सञ्चालन गरिएको विषय सार्वजनिक भएपछि स्थानीय स्तरमा अतिक्रमण हटाउन सुरु गरिएको छ।
स्थानीयका अनुसार “डिनएन ग्रुप अफ कम्पनी” नामक व्यापारी समूहले उक्त विद्यालयको खेतीयोग्य जमिन अतिक्रमण गरी “ग्रिन सिटी” नाम दिएर जग्गा टुक्र्याएर बिक्री गर्ने काम गरिरहेको थियो।
समूहले सार्वजनिक सडकसमेत निर्माण गरी सो क्षेत्रमा व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ।
यस्तै, उक्त समूहले कृषि क्षेत्रको जमिनलाई विभिन्न प्रक्रियामार्फत आवासीय तथा शहरी क्षेत्रको रूपमा वर्गीकरण गरिएको सरकारी कागजपत्र तयार गरी प्रयोग गरेको आरोप पनि लागेको छ।
यस क्रममा स्थानीय, प्रदेश तथा संघीय सरकारलाई समेत भ्रममा पारिएको स्थानीयको दाबी छ।
यो विषय बाहिरिएपछि शनिबार शारदा माध्यमिक विद्यालय बलाहाले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अतिक्रमित जग्गा फिर्ता लिन पहल गरेको हो।
सो क्रममा डोजर प्रयोग गरी जग्गामा खाल्डो खन्ने तथा पर्खाल निर्माण गर्ने काम सुरु गरिएको छ।
इनरूवा नगरपालिका–५ का वडाध्यक्ष अनिल पोखरेलको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणि भण्डारी, प्रधानाध्यापक डा तिर्थराज भट्टराई, अभिभावक तथा स्थानीय बासिन्दाहरूको सहभागितामा अतिक्रमण हटाइएको जनाइएको छ।
यसअघि पनि करिब ७ महिनाअघि सो समूहलाई अतिक्रमण नगर्न तथा बनाइएको सडक बन्द गर्न निर्देशन दिइएको थियो। तर, बाटो बन्द गरिएपछि पुनः माटो पुरी जबरजस्ती सडक सञ्चालनमा ल्याइएको पाइएको थियो।
हाल पुनः डोजर प्रयोग गरी करिब ५ फिट अग्लो र २० फिट चौडाइको पक्की संरचना ९पर्खाल० निर्माण गरी विद्यालयको जग्गा संरक्षण गर्ने काम अघि बढाइएको छ।
स्थानीयहरूले सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा यस कदमलाई महत्वपूर्ण मान्दै सम्बन्धित निकायबाट थप छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।