१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

सशस्त्र प्रहरीले देवानगञ्जबाट ९ लाखभन्दा बढीका अवैध सामानसहित मोटरसाईकल लिए नियन्त्रणमा, तस्कर फरार

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, बैशाख १०, २०८३

इनरुवा । भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्षाहीबाट करिब ९ लाख ३० हजार रुपैयाँ बराबरका सामानसहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

मिति २०८३ वैशाख ११ गते बिहान करिब ४:१० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा कप्तानगञ्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० सदस्यीय मोबाइल गस्ती टोलीले नियमित सुरक्षा निगरानीका क्रममा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार को १३ प ७१३४ र BR 39Y 0322 नम्बरका दुई मोटरसाइकलमा ठूलो मात्रामा सामान लोड गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा गस्ती टोलीले शंका लागेर रोक्न खोज्दा संलग्न व्यक्तिहरू मोटरसाइकल तथा सामान छाडेर अँध्यारोको मौका छोपी फरार भएका थिए।

बरामद गरिएको सामग्रीमा डबल बेडका तन्ना सेट १२० थान, वाईफाई राउटर तथा चार्जर १०० थान, नक्कली गहना ३०० पिस र ४ बोरा सुर्ती रहेको छ। कपडा, इलेक्ट्रोनिक्स र अन्य सामग्रीको अन्दाजी मूल्य ७ लाख ३० हजार रुपैयाँ तथा प्रयोग गरिएका मोटरसाइकलको अन्दाजी मूल्य २ लाख रुपैयाँ गरी जम्मा ९ लाख ३० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सबै सामान तथा मोटरसाइकल सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा, सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाएको बताएका छन्।

यसैबीच, घट्नामा संलग्न तस्करहरूको पहिचान खुलाउन तथा पक्राउ गर्न सशस्त्र प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ।

पछिल्लो समय भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै कपडा, इलेक्ट्रोनिक्स तथा सुर्तीजन्य वस्तुको अवैध ओसारपसार बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी थप कडाइ गरेको जनाएको छ।

स्थानीय बासिन्दाले समेत सीमा क्षेत्रमा हुने यस्ता गतिविधिले राजस्वमा नोक्सानी पुर्‍याउनुका साथै अवैध व्यापारलाई प्रोत्साहन गर्ने भएकाले सम्बन्धित निकायले अझ कडा निगरानी र नियन्त्रण आवश्यक रहेको बताएका छन्।

error: Content is protected !!