तस्विर : नमो आलाईन
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको रंगेली रोडमा रहेको ग्रीनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाटै सुनको मुन्द्रा चोरी भएको घटना सार्वजनिक भएको छ। उदयपुरको त्रियुगा नगरपालिका-७ की ४० वर्षीया सबिना दनुवारको मृत्यु भएलगत्तै उनले लगाएको एक तोला सुनको मुन्द्रा अस्पतालको शय्याबाटै गायब भएको हो।
विष सेवन गरेकी सबिनालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाटबाट नोबेल मेडिकल कलेज रेफर गरिएको थियो। तर, एम्बुलेन्स चालकले उनलाई ग्रीनक्रस अस्पताल पुर्याएका थिए। उपचारका क्रममा आइतबार बिहान सबिनाको मृत्यु भयो।
अस्पताल ल्याउँदा र उपचारको क्रममा सबिनाको कानमा सुनका मुन्द्रा सुरक्षित रहेको मृतकका आफन्तले बताए। मृत्यु हुनुअघि ईसीजी गर्ने भन्दै पर्दा लगाएर भित्र लगिएको र त्यही समयमा सुन चोरी भएको आफन्तको आशंका छ।
मृत्युपछि शव हेर्दा कानमा मुन्द्रा नदेखेपछि आफन्तले तत्काल अस्पताल प्रशासनसँग सोधपुछ गरे। सुरुमा घटना अस्वीकार गरेको अस्पताल प्रशासनले बेडमा रहँदा मुन्द्रा भएको भिडियो प्रमाण देखाएपछि क्षतिपूर्ति दिन तयार भयो। अस्पतालले चोरी भएको सुनबापतको रकम पीडित परिवारलाई बुझाइसकेको छ।
अस्पतालका सञ्चालक कृष्ण खवासले घटनाको समयमा आफू बाहिर रहेको भन्दै पन्छिन खोजे। उनले घटनाबारे थप बुझ्ने बताए पनि अस्पतालले क्षतिपूर्ति तिरिसकेकाले चोरी पुष्टि भइसकेको पीडित पक्षको दाबी छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालले अस्पताल जस्तो संवेदनशील ठाउँमा भएको यस्तो घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान सुरु गरेको बताए।