उदयपुर । उदयपुरको कटारी नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ।
जिल्लाको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको स्कुल बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक अचानक बसबाट खसेका थिए।
दुर्घटनामा परी कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापाको मृत्यु भएको हो।
घटनामा गम्भीर घाइते थापालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको भए पनि उपचारकै क्रममा बिहान ९ः५५ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि बस र चालक कटारी नगरपालिका–२ निवासी ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।