विराटनगर । सुनसरी प्रहरीले संचालन गरेको विशेष अभियान अन्तर्गत सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीहरूलाई पक्रउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईहरूबाट खटिएको विशेष टोलीले मिति २०८३ जेठ १९ गते उनीहरूलाई पक्राउ गरेको हो ।
सुरक्षित र न्यायपूर्ण समाज निर्माणका साथै अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन प्रहरीले यो सक्रियता देखाएको जनाईएको छ ।
पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, लागू औषध, कुटपिट तथा चेक अनादर जस्ता मुद्दाका फरार प्रतिवादीहरू रहेका छन् ।
पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान मुद्दामा सजाई पाएका धरान उपमहानगरपालिका वडा नं. १५ का बब्लु भन्ने मणी परियार र विक्रम वि.क. पक्राउ परेका छन् । उनीहरू दुवैलाई अदालतले २ वर्ष कैद सजाय सुनाएको थियो ।
त्यस्तै लागू औषध मुद्दामा बराहक्षेत्र नगरपालिका वडा नं. ७ का मंगल लिम्बू पक्राउ परेका छन् । उनलाई ४५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
कुटपिट मुद्दामा कोशी गाउँपालिका वडा नं. ७ का शिवनारायण मोची र इनरुवा नगरपालिका वडा नं. ६ की सिता श्रेष्ठ पक्राउ परेका छन् । मोचीलाई कुटपिट मुद्दामा ३ हजार र अंश भरपाइ बदर मुद्दामा ११ हजार ४ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो भने श्रेष्ठलाई १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
चेक अनादर मुद्दामा झापा गौरादह ५ का मोहन श्रेष्ठ (२ हजार जरिवाना), दुहवी १२ का जयनारायण चौधरी (१ हजार ५ सय जरिवाना) र गढी ३ का अशोक प्रसाद साह हलुवाई (१ हजार जरिवाना) पक्राउ परेका छन् ।
पक्राउ परेका सबै प्रतिवादीहरूलाई कैद तथा जरिवाना भुक्तानका लागि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।