काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महरले विरोध जारी रहने बताएका हुन् ।
बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिए । तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए । दुई विषयमा घनिभूत छलफल भयो । पहिलो, रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराउनुभयो । त्यसमा हामीले इपीजीको विषयमा प्रश्न उठायौँ । अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभयो । भोलिपल्ट सीमाको विषयमा छलफल भयो कि भएन ? त्यसमा उहाँले केही न केही भन्ने प्रयास गर्नुभयो । तर स्पष्ट जवाफ आएन’, उनले भने । यसैगरी संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताए । यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको उनले बताए । महरले भने, ‘संसद्को अवरोध गर्ने हाम्रो चाहना होइन । प्रधानमन्त्रीले तुरुन्तै संसदमा आएर जवाफ दिनुपर्छ भन्यौँ । सार्वभौम संसदमा जवाफ दिने विषयमा सभापतिले पार्टीभित्र छलफल गर्छौँ तर अहिले संसदमा जवाफ दिनुहुँदैन भन्नुभयो ।’