१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सुनसरी ४ : रास्वपा उम्मेदवार दीपक सुनसरी ४ कै मतदाता

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, फाल्गुण १३, २०८२

बिराटनगर। फागुन २१ नजिकिँदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। घरदैलो कार्यक्रम, कोणसभा र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार तीव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक साहको मतदाता सम्बन्धी विषय सार्वजनिक बहसको केन्द्रमा पुगेको छ।

केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक मतदाता परिचयपत्रमा साह भक्तपुरको बालकोट–९ का मतदाता रहेको उल्लेख गरिएको छ। मतदाता नम्बर ५३६०८०१ उल्लेखित उक्त परिचयपत्र सार्वजनिक भएपछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले साहलाई “बाहिरका उम्मेदवार” तथा “टुरिस्ट क्यान्डिडेट” भन्दै टिप्पणी गरिरहेका छन्।

उम्मेदवार दीपक साहले भने उक्त परिचयपत्र आफ्नो नै भएको स्वीकार गर्दै त्यो पुरानो विवरण भएको स्पष्ट पारेका छन्। उनका अनुसार पहिले भक्तपुरमा मतदाता नामावलीमा नाम दर्ता भएको भए पनि हाल आफ्नो नाम सुनसरी निर्वाचन क्षेत्र नं. ४ को मतदाता नामावलीमा कायम भइसकेको छ।

“मेरो घर–ठेगाना सुनसरीमै हो। म यही क्षेत्रको स्थायी बासिन्दा हुँ। सामाजिक सञ्जालमा घुमाइएको परिचयपत्र पुरानो हो, अहिले मेरो नाम सुनसरी–४ मै दर्ता छ,” साहले बताए। उनले निर्वाचन आयोगमार्फत आवश्यक प्रक्रिया पूरा गरी मतदाता नामावली स्थानान्तरण गरिएको दाबी गरेका छन्।

साहले रास्वपाप्रतिको बढ्दो समर्थन देखेर विपक्षीहरू आत्तिएको आरोप लगाएका छन्। “रास्वपाको बढ्दो क्रेज देखेर केही समूहले मिथ्या सूचना फैलाएर मतदातामा भ्रम सिर्जना गर्न खोजेका छन्,” उनले भने।

उनका अनुसार यस्ता प्रचारले मतदाताको विश्वास डगमगाउने छैन। उनले सुनसरी–४ का मतदाताले परिवर्तन र नयाँ राजनीतिक संस्कारको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपालको निर्वाचन कानुनअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नका लागि अनिवार्य रूपमा सोही क्षेत्रको मतदाता हुनुपर्ने प्रावधान छैन। तर स्थानीय बासिन्दा तथा मतदाता भएको विषय राजनीतिक रूपमा संवेदनशील मानिन्छ। यसकारण सामाजिक सञ्जालमा उठेको विषयले चुनावी माहोललाई थप तातो बनाएको देखिन्छ।

हालसम्म यस विषयमा जिल्ला निर्वाचन कार्यालय वा सम्बन्धित निकायबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।

चुनाव नजिकिँदै जाँदा सुनसरी–४ मा आरोप–प्रत्यारोप र सामाजिक सञ्जाल केन्द्रित बहस तीव्र बन्दै गएको छ। उम्मेदवार साहले आफू यही क्षेत्रका मतदाता रहेको दाबी गरिरहँदा विपक्षी पक्ष भने यस विषयलाई चुनावी मुद्दा बनाउने तयारीमा देखिन्छ।

error: Content is protected !!