०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

इरान–अमेरिका तनाव चर्किँदै, मिसनकै बीच एफ–३५ माथि इरानको आक्रमण

Logo
एजेन्सी प्रकाशित शुक्रबार, चैत्र ०५, २०८२

काठमाडौं // इरानसँग जारी तनावबीच अमेरिकी सेनाको अत्याधुनिक एफ–३५ लडाकु विमानलाई आपतकालीन अवतरण गराइएको घटना सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानमाथि सञ्चालन गरिएको सैन्य मिसनका क्रममा उक्त विमानलाई मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामा आकस्मिक रूपमा अवतरण गराइएको हो।

अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमान सुरक्षित रूपमा अवतरण गरिएको जानकारी दिँदै घटनाबारे अनुसन्धान सुरु गरिएको बताएका छन्। उनका अनुसार पाइलटको अवस्था स्थिर रहेको छ।

फेब्रुअरी अन्त्यदेखि चर्किएको द्वन्द्वयता पहिलोपटक अमेरिकी एफ–३५ जेट प्रत्यक्ष रूपमा निशानामा परेको दाबी गरिएको छ। यसअघि यस्ता अत्याधुनिक स्टेल्थ विमानहरू प्रत्यक्ष जोखिममा परेको विवरण सार्वजनिक भएको थिएन।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले भने उक्त विमानमाथि सफल आक्रमण गरी ‘गम्भीर क्षति’ पुर्‍याएको दाबी गरेको छ। उनीहरूको विज्ञप्तिअनुसार बिहीबार दिउँसो करिब साढे दुई बजे इरानको वायु रक्षा प्रणालीमार्फत आक्रमण गरिएको थियो। साथै, १२५ भन्दा बढी अमेरिकी–इजरायली ड्रोनहरू अवरोध गरेपछि उक्त अपरेसन सञ्चालन गरिएको दाबी पनि गरिएको छ।

इरानी पक्षले यस घटनालाई आफ्नो वायु रक्षा प्रणालीमा भएको उल्लेखनीय प्राविधिक सुधारको संकेतका रूपमा व्याख्या गरेको छ। यद्यपि अमेरिकी पक्षले क्षतिको स्तरबारे कुनै औपचारिक पुष्टि गरेको छैन।

एफ–३५ जेट विश्वकै अत्याधुनिक राडार छल्न सक्ने क्षमतायुक्त लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १०० मिलियन डलरभन्दा बढी पर्ने गर्छ। अमेरिका र इजरायल दुवैले यसलाई रणनीतिक सैन्य अभियानमा प्रयोग गर्दै आएका छन् ।

समाचार एजेन्सीको सहयोगमा

error: Content is protected !!