तस्विर : फाईल
विराटनगर । कोशी प्रदेशसहित देशका विभिन्न भूभागमा आजबाट मौसम थप सक्रिय हुने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा बादल लाग्ने र केही क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हल्का हिमपातको समेत सम्भावना औंल्याइएको छ भने तराई भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विराटनगरसहित आसपासका क्षेत्रमा पनि चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागका अनुसार कोशीसँगै वाग्मती, गण्डकी तथा मधेस प्रदेशका केही स्थानमा पनि समान किसिमको मौसमी प्रभाव देखिनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सीमित स्थानमा वर्षाको सम्भावना रहनेछ।
रातिको समयमा पनि कोशी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार अबको करिब एक सातासम्म देशभर वर्षाको श्रृंखला जारी रहने देखिएको छ। सामाजिक सञ्जालमार्फत उनले आगामी दिनहरूमा दैनिकजसो वर्षा हुने र केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत दिएका छन्।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक विकसित न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण मौसम बदली भएको विभागको विश्लेषण छ। यसले विशेषगरी कोशी प्रदेशमा वर्षा र हावाहुरीको जोखिम बढाएको जनाइएको छ।
विभागले कृषक, यात्रु तथा सर्वसाधारणलाई चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।