काठमाडौँ। डोजरका दाँतले कोतरेर बल्खुको सुकुम्बासी बस्ती भग्नावशेष बनाएको छ। सग्ला कुनै घर-टहरा छैनन्। तिनै ढलेका घर-टहरालाई पनि कवाड संकलकहरूले लुछाचुँडी गरिरहेका छन्।
सरकारले डोजर चलाउने सूचना दिएपछि केहीले अघिल्लो दिन नै घरका सामान अन्यत्रै लगिसकेका छन्। लैजान नपाएकाहरूका सामान उस्तै असरल्ल भुँइभरी छन्।
भर्खर दर्के पानी परेर रोकिएको छ। शुक्रबार दिउँसोको ३:४५ बजे। भग्नावशेषबाट उठाउन लागिएका जस्ता र फलामका करकर आवाज उस्तै चर्को छ। तर बस्ती बेखुसीले सुनसान छ।
सुनसान त्यो भग्नावशेष बस्तीमा एकाएक हल्ला फैलिन्छ- यही तलतिरका राईले नदीमा हाम फाली आत्महत्या गरे। ‘अघि बिहान त यहीँ थिए। कतिबेला हाम फाले’, यस्तै अड्कलबाजी भइसक्दा ईन्द्रबहादुर राईको शब नदीबाट निकालिसकिएको थियो।
६१ वर्षीय राई सुकुम्बासी बस्ती नजिकै रहेको तरकारी बजारमा भारी बोकी दैनिकी चलाउँदै आएका थिए। उनी खोटाङका हुन्। उनी श्रीमतीसहित विस २०४२ सालमा काठमाडौँ छिरेका थिए, सुख खोज्दै।
उनकी श्रीमती सरिता राईकाअनुसार दुवै जनाले यहाँ मजदूरी गर्दै दैनिकी चलाएका थिए। काठमाडौँमा कोठाभाडमा नबसेका पनि होइनन्, लामो समय २२ वर्ष कोठा भाडमा पनि बसे उनीहरू।
एक दिन यस्तो पनि आइलाग्यो परिवारको संख्या बढ्दै जाँदा काठमाडौँमा कोठा भाडा मिलेन। त्यसपछि २०६४ सालमा उनीहरू ओत खोज्दै सुकुम्बासी बस्तीमा बस्न पुगे।
पछिल्लो समय ईन्द्रबहादुरको परिवारसँग सहज सम्बन्ध थिएन। उनी आफै कमाउँदै, आफै खाँदै आएका थिए। ‘मैले तिमीहरूले कमाएको पनि खान्न। मैले कमाएको पनि दिन्न’, यस्तै भन्थे उनी।
श्रीमती सरिताका अनुसार उनी अम्मली हुन्। रक्सी नखानू भनेर छोरीहरूले भनिरहन्थे। छोरीहरूले घरमा पनि ल्याइ बसाउँथे। तर घरमा धेरै बस्ने गरेका थिएनन्, उनी।
तर अब उनले सदाका लागि संसार छाडेका छन्। त्यो पनि आफ्नै घरमाथि बालेन सरकारको डोजरले कोतरेर छियाछिया पाखेको केही घण्टामै।
ईन्द्रबहादुर राईको शबको मुचुल्का उठाउँदै प्रहरी
डोजर बस्ती पुग्दा इन्द्रबहादुर मुर्मुरिएका थिए, एक्लै। भन्दैथिए- ‘अब म घर भत्काएको हेर्न सक्दिन।’ सायद त्यही हेर्न सकेनन् र उनी नदीमा हाम फाले र सदाका लागि अस्ताए।
डोजर चल्नुअघिसम्म तरकारी गाडीमा लोड-अनलोड गरेका थिए। आफू ठीकठाक रहेको बताएका थिए। ‘आज बिहानसम्म पनि भारी बोकिरहनुभएको थियो। मैले तीन घण्टा अघि मात्र भेटेको, के छ अंकल भन्दा ठीकै छ बाबु भन्नुभएको थियो’, बिहान इन्द्रबहादुरसँग कुरा गरेका एक जनाको भनाइ उद्धृत गर्दै श्रीमती सरिताले भनिन्।
डोजर चल्दै गर्दा इन्द्र अब म तलतिर (घरतिर) जान्न भन्दै बाटोमा एक्लै बोल्दै पनि थिए। ‘अब म घर भत्काएको हेर्न सक्दिन। म तलतिर जाँदा पनि जान्न भन्दै एक्लै बोलेर हिँडिराखेका थिए रे’, इन्द्रको कुरा सुन्नेहरूको कुरालाई सरिताले सुनाइन्।
प्रहरीले इन्द्रलाई दिउँसो साढे ३ बजे नदीमा देखेको बताएको छ। ‘दिउँसो साढे तीन बजे शब बगाएर लिएको हामीले थाहा पाएपछि नदीबाट निकाले थियौँ’, काठमाडौँ प्रहरी परिसका प्रवक्ता एसपी पवन भट्टराईले भने।
बागमती नदीको पश्चिम किनारमै बसेको थियो बल्खु सुकुम्बासी बस्ती। बागमती नदीको किनारमै बसेको थापाथली सुकुम्बासी बस्तीमा डोजर चल्ने सूचना पाएपछि त्यहाँ १७ वर्षीय किशोर रवीन तामाङले पनि शौचालयमा झुण्डीएर आत्महत्या गरेका थिए।
तर सरकारले आतंकिन नबनाएर बस्ती उठाउने भने पनि घरबाट सामान निकाल्न नदिएर बस्तीमा डोजर चलाइरहेको छ। थापाथलीको बंशीघाट टोलमा रहेको घरमा डोजर चलाएपछि शुक्रबार नै ३८ वर्षीया रेखा कुँवर बेहोस भएकी थिइन्।