तस्विर : नमो अनलाइन
काठमाडौँ । नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यमलाई दिइँदै आएको सरकारी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
युनियनको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
विज्ञापनको न्यायोचित वितरण, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको रोजगारी सुरक्षाका लागि स्पष्ट नीति निर्माण गर्न युनियनले सरकारसँग माग गरेको छ । यसैगरी, श्रमजीवी पत्रकारका समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियुक्तिपत्र अनिवार्य र नियमित तलब भुक्तानी सुनिश्चित गर्न युनियनले माग गरेको छ ।
बैठकले पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । पछिल्लो समयमा विकसित डिजिटल युगका चुनौतीलाई सम्बोधन गर्न युनियनले एआई, सामाजिक सञ्जाल र डिजिटल मिडियाको जिम्मेवार प्रयोगका लागि मापदण्ड विकास गर्ने, पत्रकारहरूलाई डिजिटल सीपसम्बन्धी तालिम दिने र मिस–इन्फर्मेसन नियन्त्रणका लागि तथ्य–जाँच प्रणाली सुदृढ गर्ने भएको छ ।