२३ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

बिपद् उद्दार र सीमा अपराध नियन्त्रणमा गम्भीर बन्न एआईजी दाहालको निर्देशन

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, बैशाख २३, २०८३

विराटनगर । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालले सुनसरी र मोरङ जिल्लाका सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका कमान्डरहरुलाई सीमा अपराध नियन्त्रण, तस्करी रोकथाम तथा बिपद् व्यवस्थापनका कार्यमा थप प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिएका छन् ।

मोरङ जिल्लामा आयोजित विशेष सुरक्षा समन्वय कार्यक्रममा बोल्दै एआईजी दाहालले खुला सीमाका कारण हुने चोरी तस्करी, अवैध ओसारपसार, मानव बेचबिखन, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा कडाइका साथ लाग्न निर्देशन दिएका हुन् । उनले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप मजबुत बनाउन, गस्तीलाई प्रभावकारी बनाउन तथा सूचना संकलन प्रणालीलाई सक्रिय बनाउन मातहतका अधिकृतहरुलाई आग्रह गरे ।

उनले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले उच्च सतर्कता, अनुशासन र जिम्मेवारीका साथ कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमामा हुने प्रत्येक गतिविधिमाथि निगरानी बढाउनुपर्ने बताए । “सीमा क्षेत्रको सुरक्षा केवल सशस्त्र प्रहरीको जिम्मेवारी मात्र होइन, राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो,” उनले भने ।

एआईजी दाहालले पछिल्लो समय प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका कारण सशस्त्र प्रहरी बललाई विपद् उद्धार तथा राहत व्यवस्थापनमा सदैव तयारी अवस्थामा रहन निर्देशन दिए । उनले बाढी, डुबान, आगलागी, हावाहुरी तथा अन्य प्राकृतिक विपद्का बेला स्थानीय तह, नेपाल प्रहरी र अन्य निकायसँग समन्वय गरेर तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सीमा क्षेत्रमा कार्यरत कमान्डरहरुले आ–आफ्नो क्षेत्रमा देखिएका सुरक्षा चुनौती, तस्करी नियन्त्रणका प्रयास तथा विपद् व्यवस्थापन सम्बन्धी गतिविधिबारे जानकारी गराएका थिए । एआईजी दाहालले सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा कुनै कमजोरी हुन नदिन निर्देशन दिँदै जनताको सुरक्षा, शान्ति र विश्वास कायम राख्न सशस्त्र प्रहरी सदैव सक्रिय रहनुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, सीमा क्षेत्रमा कार्यरत कमान्डर तथा सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!