तस्विर : नमो आलाईन
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडास्थित क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
मंगलबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी गस्ती टोलीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट को एम्बुलेन्सलाई शंकास्पद अवस्थामा रोकेर जाँच गर्न खोज्दा चालकले भाग्ने प्रयास गरेका थिए ।
प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याएर नियन्त्रणमा लिएको थियो । त्यसपछि गरिएको चेकजाँचका क्रममा एम्बुलेन्सभित्र प्लाष्टिकको बोरामा राखिएको अवस्थामा लागूऔषध गाँजा जस्तो देखिने १४८ किलोग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य सुपोल जिल्ला बिरपुर निवासी १८ वर्षीय धर्मेन्द्र कुमार यादव र सोही स्थानका २१ वर्षीय मो। सदामलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध गाँजा, प्रयोग गरिएको एम्बुलेन्स तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।