काठमाडौं । जिल्ला परीक्षा समन्वय समिति सिरहाले गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा ती उपकरण नष्ट गरिएको हो ।
यसअन्तर्गत सात ओटा आईफोन, ४८९ वटा एन्ड्रोइड फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएका छन्, जसको अनुमानित बजार मूल्य एक करोड रुपैयाँ बढी रहेको जनाइएको छ ।
मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेकी थिइन् । सोही निर्देशन र परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको ठहर गर्दै जिल्ला परीक्षा समन्वय समितिले मोबाइल नष्ट गर्ने निर्णय गरेको थियो ।
उपकरण व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो ।
प्रहरीले अधिकांश मोबाइल फोन पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरेको छ भने वाटरप्रुफ सेटहरूलाई फुटाएर पानीमा हालिएको छ । उपसमिति संयोजक यादवका अनुसार प्राविधिक रूपमा पुनः प्रयोग गर्न नमिल्ने सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार पालले यो निर्णय प्रहरीको एकल नभई समन्वय समितिको भएको बताए । उनले नमो मिडिया ग्रुप सँग भने, “परीक्षाको मर्यादा विपरीत कार्य गर्नेलाई पहिले नै सूचित गरिएको थियो । यो पूर्व निर्णयको कार्यान्वयन मात्र हो ।”
यता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइल लिलाम गर्दा भविष्यमा सुरक्षा चुनौती आउन सक्ने बताए । “एक पटक प्रयोग भइसकेको आईएमईआई नम्बर भएको सेट अर्को व्यक्तिलाई बिक्री गर्दा कानुनी जटिलता आउन सक्छ,” उनले भने, “कानुनतः एक लाख जरिवाना र एक वर्ष कैदको व्यवस्था भए पनि विद्यार्थीको भविष्य हेरेर ‘न्यायिक मन’ प्रयोग गरी कडा अभियोग नलगाइएको हो ।”
प्रहरीले मोबाइल नष्ट गरेको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस कदमको आलोचना भइरहेको छ । कतिपयले जरिवाना तिराएर मोबाइल फिर्ता दिनुपर्ने वा लिलामी गरेर उठेको रकम शिक्षा क्षेत्रमा लगाउनुपर्ने विकल्प सुझाएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अभिभावकले दु:ख गरेर किनिदिएको मोबाइल नष्ट गर्दा मानवीय संवेदनाको ख्याल नगरिएको र मोबाइलमा बैंकिङ एपदेखि महत्त्वपूर्ण विवरण हुने भएकाले यसले व्यक्तिको गोपनीयतामा समेत असर पुग्ने तर्क गरेका छन् ।