ब्रहमदेव मेहता
इनरुवा। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई विजयी गराउन आग्रह गरेका छन्।
मंगलबार क्षेत्र नं. ४ मा आयोजित कार्यकर्ता भेटघाट तथा भेलालाई सम्बोधन गर्दै थापाले पार्टीलाई एकताबद्ध राख्न र संसदमा सबै पक्षलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्व आवश्यक रहेको बताए। उनले कार्कीलाई अनुभवी, परिपक्व र समन्वयकारी नेता भन्दै संसदमा उनको आवश्यकता रहेको धारणा व्यक्त गरे।
“पार्टीलाई एकठाउँमा राख्ने र सबैलाई मिलाएर अघि बढाउने नेतृत्व आवश्यक छ,” थापाले भने, “संसदमा सकारात्मक सोचसहित सबैलाई समेटेर लैजान सक्ने अनुभवी व्यक्तित्व चाहिन्छ।” उनले कार्यकर्ताहरूलाई एकजुट भएर कार्कीलाई विजयी गराउन आह्वान गरे।
थापाले कांग्रेसले विगतमा गरेका प्रतिबद्धता पूरा गरेको विषयमा जनतालाई जानकारी गराउनसमेत आग्रह गरे। “कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने कुरा जनतालाई बुझाउनुपर्छ,” उनले भने, “हामीले जनतासामु गरेका प्रतिबद्धतामा इमान्दार प्रयास गरेका छौं, कांग्रेस परिवर्तनसहित अघि बढिरहेको छ।”
उनले निर्वाचन आचारसंहिताका कारण विस्तृत रूपमा धारणा राख्न नसक्ने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा कांग्रेस प्रतिबद्ध रहेको बताए।
महामन्त्री थापा सोमबार विराटनगर आएका थिए। मंगलबार बिहान इटहरी, झुम्का र इनरुवा हुँदै कार्यक्रमहरू सम्पन्न गरी उनी सर्लाहीतर्फ प्रस्थान गरेका थिए।