०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

पूर्वी नेपालसहित देशका विभिन्न भागमा आज र भोलि हावाहुरीको उच्च जोखिम

Logo
एजेन्सी प्रकाशित शुक्रबार, चैत्र ०५, २०८२

काठमाडौं // राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भूभागमा आज र भोलि तीव्र हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हावाहुरीको प्रभाव बढी रहनेछ भने भोलि पूर्वी नेपालका जिल्लामा यसको असर देखिने सम्भावना छ। प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ।

मौसमीय जोखिम बढ्दै गएसँगै भौतिक संरचना, यातायात र जनसुरक्षामा असर पर्ने खतरा रहेको प्राधिकरणको भनाइ छ। विशेषगरी खुला स्थान, कमजोर संरचना र भीडभाडयुक्त क्षेत्रमा जोखिम बढी रहने उल्लेख गरिएको छ।

हावाहुरीबाट जोगिने उपायहरू

– प्राधिकरणले हावाहुरीबाट हुने सम्भावित क्षति न्यूनिकरण गर्न निम्न उपाय अपनाउन सुझाव दिएको छः

– घर तथा संरचनालाई मजबुत बनाउने र छाना मजबुत रूपमा बाँध्ने

–  जस्तापाता वा फुसका छाना ‘जे हुक’ वा तारले कसेर सुरक्षित गर्ने

–  छतमा राखिएका गमला, इँटा वा अन्य सामग्री सुरक्षित रूपमा व्यवस्थापन गर्ने

–  हावाहुरीको समयमा घरभित्रै बस्ने र झ्यालढोका बन्द राख्ने

–  यात्रा गरिरहेकै अवस्थामा सुरक्षित स्थान खोजेर रोक्ने

–  भीडभाडमा भागदौड नगरी शान्त रूपमा सुरक्षित ठाउँमा जाने

–  खुला स्थानमा परे टाउको जोगाउँदै भुइँतिर झुकेर बस्ने

–  रुखमुनि वा कमजोर संरचनाको छेउमा नबस्ने

–  हावाहुरीको बेला खुला स्थानमा आगो नबाल्ने

थप सावधानीका उपाय

–  विद्युतीय पोल, तार र ट्रान्सफर्मरबाट टाढा रहने

–  मोबाइल चार्ज गर्दा वा बिजुली प्रयोग गर्दा सतर्कता अपनाउने

–  किसानहरूले बाली तथा पशुपन्छीलाई सुरक्षित स्थानमा राख्ने

–  सवारीसाधनलाई सुरक्षित स्थानमा पार्क गर्ने

–  स्थानीय प्रशासन र मौसम पूर्वानुमानको नियमित जानकारी लिने

प्राधिकरणले विपद्को समयमा अफवाहमा नलागी आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गर्दै सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

error: Content is protected !!