काठमाडौँ । भारत महाराष्ट्रको अमरावती जिल्लामा एक १९ वर्षीय किशोरले १८० भन्दा बढी किशोरीहरूलाई प्रेमको जालमा पारेर यौन शोषण गरेको र उनीहरूको अश्लील भिडिओ बनाएको डरलाग्दो तथ्य बाहिर आएको छ । यस घटनामा संलग्न मुख्य अभियुक्त अयान अहमद र उनका सहयोगी उजैर खान इकबाललाई प्रहरीले पक्राउ गरेको छ ।
सुरुमा यो मामिला १०० वटा भिडिओ र केही किशोरीहरूसँग मात्र सम्बन्धित देखिए पनि अनुसन्धानको क्रममा यसको दायरा निकै फराकिलो पाइएको छ । अभियुक्त अयानले स्न्यापच्याट र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमार्फत ११ र १२ कक्षामा पढ्ने नाबालिग किशोरीहरूलाई लक्षित गर्ने गरेको पाइएको छ । ट्युसन क्लास जाने किशोरीहरूलाई प्रलोभनमा पारी उनीहरूलाई मुम्बई र पुणे जस्ता सहरहरूमा लगेर इच्छा विपरीत अश्लील भिडिओ खिच्ने गरिएको भारतीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै लेखेका छन् ।
आरोप अनुसार यी भिडिओ देखाएर किशोरीहरूलाई ब्ल्याकमेल गर्ने र उनीहरूलाई वेश्यावृत्तिमा धकेल्ने प्रयास समेत गरिएको थियो । अयानको मोबाइलबाट ३५० भन्दा बढी अश्लील क्लिपहरू फेला परेको र कतिपय भिडिओ पोर्न साइटहरूसम्म पुगेको उल्लेख छ ।
राज्यसभा सदस्य अनिल बोन्डेको उजुरीपछि प्रहरीले अप्रिल ११ मा अयानलाई हिरासतमा लिएको थियो । हाल अभियुक्तहरूलाई अप्रिल २१ सम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ । प्रहरीले अभियुक्त विरुद्ध भारतीय न्याय संहिताको धारा २९४, यौन अपराधबाट बालबालिकाको संरक्षण ऐनको धारा ८ र १२, तथा आईटी ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
प्रहरीले यस घटनाको छानबिनका लागि महिला प्रहरी अधिकारीहरूको विशेष टोली गठन गरेको छ । हालसम्म ८ जना पीडित किशोरीहरूको पहिचान भइसकेको छ । साइबर टोलीले इन्टरनेटमा भाइरल भएका भिडिओहरू हटाउने प्रयास गरिरहेको छ ।
सांसद अनिल बोन्डेले यसलाई एउटा ठुलो गिरोहको काम भन्दै विशेष अनुसन्धान टोली गठन गर्न माग गरेका छन् । उनले पीडित किशोरी र उनीहरूका परिवारलाई ज्यान मार्ने धम्की दिइएकाले उनीहरू डराएको बताएका छन् । यसैबिच अभियुक्त अयानको केही राजनीतिक तस्विरहरू सार्वजनिक भएपछि यसले राजनीतिक मोड समेत लिएको छ । अर्कोतर्फ एक काँग्रेस नेताले पीडित किशोरीहरूको समझदारीमाथि नै प्रश्न उठाउँदै टिप्पणी गरेपछि विवाद उत्पन्न भएको छ ।
प्रहरीले पीडितहरूलाई निर्धक्क भएर उजुरी दर्ता गर्न र पहिचान पूर्ण रूपमा गोप्य राखिने आश्वासन दिएको छ ।