०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

विद्यालय परिसरमै १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, मुख्य आरोपित जमिल फरार, घट्नामा संलग्न रविन्द्र पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, बैशाख ०४, २०८३

तस्विर : नमो अनलाइन

बिराटनगर । सुनसरीको कोशी गाउँपालिका–३ स्थित रहेको राष्ट्रिय माध्यमिक विद्यालय सोभनपुर परिसरमा १५ वर्षीया एक नाबालिक किशोरीमाथि जबरजस्ती करणी भएको घट्ना बाहिरिएको छ।

सोही ठाउँ की एक नाबालिक किशोरी माथि जबरजस्ती करणी गरेको घट्ना बाहिरिएको हो।

घटनामा सोही विद्यालयका सुरक्षा गार्डका छोरा जमिल मन्सुरी संलग्न रहेको आरोप लगाइएको छ भने उनलाई हालसम्म पक्राउ गर्न प्रहरीले सकेको छैन।

प्राप्त विवरण अनुसार बैशाख ४ गते शुक्रबार राति करिब १०:३० बजेको समयमा विद्यालय बन्द रहेको अवस्थाको फाइदा उठाउँदै सुरक्षा गार्डका छोरा जमिल मन्सुरीले विद्यालयको साँचो बुवबाट लिई विद्यालय परिसरमा ति नाबालिक किशोरीलाई जबरजस्ती लगी घट्ना घटाइएको बताइएको छ।

समाचार स्रोतका अनुसार किशोरी घरबाट शौचका लागि बाहिर निस्किएको समयमा उनलाई सिटी सफारीमार्फत जबरजस्ती विद्यालय परिसरमा लगिएको थियो। त्यहाँ उनको मुख कपडाले बाँधेर जबरजस्ती करणी गरिएको आरोप पिडित पक्षको रहेको छ।

रातिको समयमा विद्यालय परिसर भित्र सवारी साधन प्रवेश गरेको देखेपछि स्थानीयवासीहरूमा शंका उत्पन्न भएको थियो। केहीबेरमै हल्ला फैलिँदै जाँदा गाउँलेहरू घटनास्थलतर्फ भेला हुन थालेका थिए। स्थानीयहरू विद्यालय परिसरमा पुगेर घेराउ गर्दा मुख्य आरोपित जमिल मन्सुरी अँध्यारोको फाइदा उठाउँदै फरार भएको स्थानीयहरुको भनाई छ।

घटनामा प्रयोग गरिएको सिटी सफारीका चालक भने भाग्ने क्रममा स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको थियो। पक्राउ परेका चालक कोशी गाउँपालिका–३ कै रविन्द्र कुमार साह रहेको खुलेको छ।

पीडित परिवार स्रोतका अनुसार प्रहरीले घट्नालगत्तै चालकलाई नियन्त्रणमा लिई शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर अनुसन्धान सुरु गरेको थियो। पीडित किशोरीलाई पनि सोही राति प्रहरी सम्पर्कमा ल्याई आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

शनिबार (बैशाख ५ गते) पीडित परिवारले मुख्य आरोपित जमिल मन्सुरीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा औपचारिक जाहेरी र सिटी चालक रविन्द्र कुमार साह विरुद्ध घट्ना घटाउनमा सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गराएका छन्।

परिवारले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

पीडित परिवारका एक सदस्यले भने, “हामी ठूलो अन्यायमा परेका छौं। यस्तो जघन्य घट्नालाई दबाउन खोज्नु हुँदैन। दोषी जोसुकै भए पनि कानुनअनुसार कडा सजाय हुनुपर्छ।”

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले फरार रहेका मुख्य आरोपितको खोजी तीव्र बनाएको र घट्नामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ।

घटनापछि स्थानीय समुदायमा सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेको छ। विद्यालयजस्तो शैक्षिक तथा सुरक्षित मानिने स्थलमै यस्ता घटना घट्नुले अभिभावकहरू चिन्तित बनेका छन्। स्थानीयवासीहरूले विद्यालय परिसरको सुरक्षा व्यवस्थामा सुधार गर्न तथा रातिको समयमा निगरानी कडा बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

यता, आरोपित पक्षसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेको छैन।

error: Content is protected !!