इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित चारकोसे सीमा इलाकाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
मिति २०८३ वैशाख १९ गते बेलुका करिब १५:४० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय भन्टाबारीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका एक जनालाई शंका लागेपछि नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुनसरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने वर्ष २७ का श्यामकुमार रजक रहेका छन्।
उनको शरीर तथा साथमा रहेको झोलाको जाँच गर्दा प्लास्टिकसहित करिब १.४६ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित रजकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भन्टाबारीमा लगिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणका गणपति सप्रउ श्यामकुमार कार्कीले जानकारी दिनुभयो।