०२ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

हिन्दु आतङ्कवादी हुन सक्दैन : अमित शाह

Logo
एजेन्सी प्रकाशित बिहिबार, साउन १५, २०८२

तस्विर : नमो अनलाइन

काठमाडौँ । भारतको राज्यसभामा ‘अपरेसन सिन्दूर’ सम्बन्धी विशेष बहसको क्रममा केन्द्रीय गृहमन्त्री अमित शाहले पूर्व गृहमन्त्री पी. चिदम्बरममाथि तीव्र प्रहार गरेका छन् ।

अमित शाहले चिदम्बरमको कथनलाई उद्धृत गर्दै भने, ‘चिदम्बरमले भने कि अपरेसन सिन्दूर निर्णायक थिएन। म उनलाई जवाफ दिन चाहन्छु — के सन् १९६५ को युद्ध निर्णायक थियो ? त्यसो भए आतङ्कवाद किन फैलियो ? के सन् १९७१ को युद्ध निर्णायक थियो भने, फेरि आतङ्कवाद किन फैलियो?

शाहले जोड दिए, ‘जबसम्म शत्रु डराउँदैन वा सुध्रिँदैन, तबसम्म निर्णायक नतिजा आउँदैन । विगतमा तर्साउने प्रयास नै गरिएको थिएन, उनीहरू किन डराउँथे ? तर मोदी सरकारले सर्जिकल स्ट्राइक, एअर स्ट्राइक र अहिलेको ‘अपरेसन सिन्दूर’ मार्फत डर सिर्जना गर्‍यो।’

अमित शाहले मुम्बई आक्रमणको सन्दर्भ उठाउँदै दिग्विजय सिंहमाथि पनि निशाना साधे । उनले भने, “सिंहले मुम्बई हमला आरएसएसले गराएको भने। यस्तो बयान जिम्मेवार नेताबाट आउनु दुःखद हो।’

त्यस्तै, उनले कथित ‘हिन्दु आतङ्क’को विषयमा पनि प्रतिक्रिया दिँदै भने, ‘हिन्दु आतङ्कको अफवाह कसले फैलायो ? म देश र विश्व सामु गर्वका साथ भन्छु — हिन्दु कहिल्यै आतङ्कवादी हुन सक्दैन।’

यसअघि मंगलबार राज्यसभामै बोल्दै पूर्व गृहमन्त्री पी. चिदम्बरमले भनेका थिए, ‘यदि मलाई सोधियो कि अपरेसन सिन्दूर सफल थियो ? मेरो जवाफ हो– हो। तर के यो निर्णायक थियो ? समयले बताउनेछ।’

चिदम्बरमले सेनाको प्रशंसा गर्दै भने, ‘भारतीय सेनाले जुन साहस र संयम देखायो, त्यो प्रशंसनीय छ।’ तर उनले सरकारसँग प्रश्न पनि उठाए– ‘यदि अपरेसन सफल भएको हो भने, पाकिस्तानसँग युद्धविराम किन गरियो ?’

उनले विदेश नीतिमाथि समेत प्रश्न उठाउँदै भने, ‘विश्व समुदायले आतङ्कवादको निन्दा गर्‍यो, तर कसैले पनि पाकिस्तानको नाम लिएन। यसले स्पष्ट सन्देश जान सक्दैन।’