
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पाचौसिमर क्षेत्रबाट लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सप्रह दीपेन्द्र कुमार खत्रीको कमाण्डमा खटिएको पाँच जनाको चेकजाँच टोलीले भारततर्फबाट नेपालतर्फ प्रवेश गर्दै गरेको एक मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रदेश १–०२–०४३ प ९०२१ नम्बरको मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका–३ मेहता टोलका २४ वर्षीय दिपेन मेहता र पछाडि सवार १८ वर्षीय चन्दन मल्लिकलाई शंका लागि रोकेर तलासी लिँदा मेहताको साथबाट प्लास्टिकमा राखिएको ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १.१२ ग्राम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित दुबै जना र प्रयोग गरिएको मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आवश्यक प्रक्रिया चलिरहेको जनाईएको छ।
सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसार–पोसार बढ्दै गएकाले चेकजाँच कडाइ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रहरीले स्थानीयलाई लागुऔषधसम्बन्धी गतिविधि देखे वा शंका लागे तुरुन्तै जानकारी दिन आग्रह समेत गरेको छ।