
बिराटनगर। गिरि फाउन्डेसन द्वारा मोरङ्ग कारागारमा आयोजित रक्तदान कार्यक्रममा त्यहाँ सजाय भोगिरहेका कैदीबन्दीहरूले स्वेच्छाले रक्तदान गरेका छन्। हाल देशमा रक्तअभावको गम्भीर समस्या देखिइरहेको बेला समाजको हरेक वर्गले सहयोगको भावना देखाउनुपर्ने अवस्थामाझ कैदीबन्दीहरूले पनि मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
उनीहरूले “देशमा कुनै नागरिकले रगतको अभावका कारण ज्यान गुमाउन नपरोस्” भन्ने भावना राख्दै रक्तदान गरेका हुन्। यस अभियानले समाजमा सकारात्मक सन्देश दिएको छ — कि मानवीय भावना र देशप्रेम जेलका पर्खालभित्र पनि बाँधिन सक्दैन।
मोरङ जिल्लामा हाल रगतको अभाव रहेको अवस्थामा यो अभियानले केही सहजता ल्याउने विश्वास गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिले व्यक्त गर्नुभयो।
“कैदीबन्दीहरूले समाजप्रतिको उत्तरदायित्व र मानवीय संवेदना प्रकट गर्दै अरुको जीवन बचाउन सहयोग गरेका छन्,” अध्यक्ष गिरिले भन्नुभयो।
त्यसैगरी, रेडक्रस मोरङ्गका अध्यक्ष सुखदेव मण्डलले रगत अभावको बेला सहयोग पुर्याएकोमा गिरि फाउन्डेसन र रक्तदान गर्ने कैदीबन्दीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
गिरि फाउन्डेसनले यस रक्तदान कार्यक्रमलाई “मानवता र सहअस्तित्वको प्रतीक” भन्दै धन्यवाद व्यक्त गरेको छ र आगामी दिनमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।