१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

हरिनगरमा डाइस खेल्ने क्रममा दुई समुदायबिच झडप, ११ जना घाइते

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, कार्तिक १०, २०८२

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नं. १ रामनगर भुटाहामा आइतबार साँझ डाइस खेल्ने क्रममा सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा दुई समुदाय हिन्दु र मुस्लिम बिच दोहोरो झडप हुँदा दुवै पक्षका ११ जना घाइते भएका छन्। ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। विवाद उत्पन्न हुने विषय र कसरी दुई समुदाय आमनेसामने भए बुझ्न एक किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार खेल्ने क्रममा भएको सानो वादविवाद एकाएक सामुदायिक तनावमा रूपान्तरण भएको थियो।

सूचना पाएलगत्तै प्रहरी चौकी रामनगर भुटाहाका प्रमुख प्रहरी नायब निरीक्षक माहानन्द दुलालको कमाण्डमा ३५ जनाको संयुक्त टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण इनरुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अदिल शेर लिम्बुको नेतृत्वमा २० जनाको थप टोली समेत खटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले घटनालाई नियन्त्रणमा लिन सुचना पाए लगत्तै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।

घाइतेहरूको विवरण यसप्रकार छः

हिन्दू पक्षबाट :

चन्दन सदा (२६ वर्ष) – टाउकोमा चोट, हरिनगर स्वास्थ्य चौकीमा उपचाररत।

पचुवा मलहा सदा (५० वर्ष) – आँखामा चोट, विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत।

राजु दास (४० वर्ष) – टाउको र नाकमा चोट, नोबेल अस्पताल विराटनगरमा उपचाररत।

मुस्लिम पक्षबाट :

राजा सिद्दिकी (२५ वर्ष) – टाउकोमा चोट, स्थानीय मुन्ना मेडिकलमा उपचारपछि डिस्चार्ज।

सोहेल अन्सारी (२० वर्ष) – घुँडामा चोट, उपचारपछि डिस्चार्ज।

साजिर सिद्दिकी (२४ वर्ष) – टाउकोमा सामान्य चोट, उपचारपछि घर फर्किएका।

अजमल हुसेन (५२ वर्ष) – शरीरमा सामान्य चोट, उपचारपछि घर फर्किएका।

फैजान अन्सारी (२३ वर्ष) – शरीरमा सामान्य चोट, उपचारपछि घर फर्किएका।

घटनापछि सुरक्षाको संवेदनशीलताको मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको कमाण्डमा ४२ जना थप सुरक्षाकर्मी खटिएका थिए। साथै सशस्त्र प्रहरी बल ४ नं. गण इनरुवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मात्रिका पौडेलको नेतृत्वमा ४५ जना थप बल परिचालन गरिएको थियो।

जुवा खेल्ने र खेलाउने दुवै गलत कुरा हो। घट्नाको गहन छानवीन गरी दोषीहरुलाई हदै सम्मको कारवाही गर्नु पर्छ। कोही कहिले दोषीलाई उम्काउने कार्य नगरियोस्। यो दुईचार जनाको विवादलाई सामुदायिक स्तरमा जानेहरुको खोजी गरी आवश्यक कारवाही गरियोस्। समाजिक सद्भाव विथोल्न खोज्ने जो कोही भए पनि कानुनको दायरामा ल्याउनु पर्छ।

रामनगर भुटाहमा समेत दुई व्यक्तिहरु विचको सामान्य विवादहरुमा समेत दुई समुदाय आमनेसामने आउनाले विगतमा समेत यस्ता घट्नाहरु भएको छ। सदियौं देखि सौहार्दपूर्ण वातावरणमा बस्दै आएका हिन्दू-मुस्लिम समुदाय यसरी आमनेसामने आउनु निन्दनिय छ। समाजका अगुवा, स्थानीय सरकार, प्रहरी प्रसासनले यसतर्फ ध्यान दिएर गहन अध्ययन गरी बढ्दै गई रहेको बैमनस्यतालाई कम गर्ने तर्फ अग्रसर हुनुपर्छ।