१७ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
×

इनरुवा–कौवाखोच सडक निर्माण ठेक्का रद्द, चार वर्षमा १८ प्रतिशत मात्र प्रगति

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, मंसिर १६, २०८२

तस्विर : नमो अनलाइन

हरिनगर। हुलाकी राजमार्गअन्तर्गत इनरुवा–कप्तानगञ्ज २२.६६ किलोमिटर सडक स्तरोन्नति आयोजना ठेकेदारले काम नगरेपछि ठेक्का रद्द गरिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार जारी गरेको सार्वजनिक सूचनामार्फत गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का औपचारिक रूपमा तोडिएको जानकारी दिएको हो ।

२०७८ माघ २ गते करसहित ५२ करोड ७० लाख रुपैयाँमा सम्झौता भएको उक्त परियोजनामा साउन २०८१ भित्र काम सम्पन्न गर्ने लक्ष्य छ । तर सम्झौताअनुसार काम अघि नबढी करिब १८ प्रतिशत मात्र भौतिक प्रगति भएपछि योजना कार्यालयले पटक–पटक ताकेता गरिरहेकामा ठेकेदारले प्रतिवद्धता अनुसार काम नगरेको, साइट सञ्चालनमा नल्याएको र कार्यतालिका अद्यावधिकसमेत पेश नगरेको बताइएको छ ।

सम्झौताअवधि २०८३ असारसम्म थप गरिए पनि आवश्यक स्रोत परिचालन, जिम्मेवार प्रतिनिधि उपस्थित गराउने, कार्यगत प्रतिबद्धता प्रस्तुत गर्नेलगायत अपेक्षित कार्यशैली नदेखिएको भन्दै कार्यालयले ठेक्का रद्द गरेको हो । निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम बोली प्रस्तुत गरेका थिए।

ठेक्का रद्दसँगै कार्य सम्पादन जमानतका १६ करोड ९४ लाख रुपैयाँ जफत गर्ने र पेस्कीका २ करोड ३१ लाख रुपैयाँमध्ये जफत योग्य रकम १ करोड ७१ लाख रुपैयाँसहित १० प्रतिशत ब्याज असुल्ने कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐनअनुसार बाँकी निर्माण कार्य पूरा गर्न सरकारलाई आवश्यक हुने खर्च सरकारी बाँकीसरह असुल गरिनेछ। साथै ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने छ ।

गत साउनमा कार्यालयले ‘किन ठेक्का नतोड्ने ?’ भन्दै १५ दिने कारण देखाउन माग गरेको थियो। तर ठेकेदारले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नठहरेपछि कानुनी व्यवस्थाअनुसार ठेक्का रद्दको निर्णय भएको हो ।

कार्यालयले हालसम्म सम्पन्न कामको नापजाँच, बाँकी कामको मूल्याङ्कन तथा वित्तीय विवरण मिलानका लागि ठेकेदारलाई १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । उपस्थित नहुँदा नापजाँच कार्यालयले स्वयं गर्ने बताइएको छ ।