१७ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

कोशी अस्पतालले मानेन मन्त्रालयको निर्देशन : ओपीडी बन्द, बिरामी मर्कामा

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, बैशाख १७, २०८३

तस्विर : नमो अनलाइन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनलाई बेवास्ता गर्दै सार्वजनिक बिदाको दिन ओपीडी (बहिरंग) सेवा सञ्चालन नगर्दा उपचारका लागि पुगेका दर्जनौं बिरामी मर्कामा परेका छन् ।

लगातार तीन दिन सार्वजनिक बिदा परेको भन्दै मन्त्रालयले देशभरका सरकारी अस्पताललाई शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालले उक्त निर्देशन पालन नगर्दा र निर्देशनको अवज्ञा गर्दा अस्पतालको सेवा प्रवाहप्रति गम्भीर प्रश्न उठेको छ ।

उभौली पर्व, बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा परेको सार्वजनिक बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने आकलन गर्दै मन्त्रालयले अग्रिम रूपमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, शुक्रबार बिहान अस्पताल पुगेका बिरामीहरूले ओपीडी सेवा नपाउँदा निराश हुँदै फर्किनु परेको छ ।

वर्षासँग जुध्दै उपचारको आशामा अस्पताल पुगेका बिरामीहरू डाक्टर नआएपछि लामो समय कुरेर फर्किन बाध्य भए । विराटनगर महानगरपालिका–४ की रमिता श्रेष्ठ भन्छिन्, ‘ओपीडी खुला हुन्छ भनेर जानकारी पाएपछि पानीमा भिज्दै अस्पताल आयौँ । तर, एक घण्टाभन्दा बढी कुर्दा पनि डाक्टर नआएपछि फर्किनु पर्यो । यस्तो व्यवहारले बिरामीलाई झन् पीडा दिन्छ ।’ उनले आफूजस्तै धेरै बिरामीले दुःख भोग्नु परेको बताइन् ।

अस्पतालको सेवा प्रवाह पछिल्लो समय लगातार कमजोर बन्दै गएको गुनासो सेवाग्राही र कर्मचारीबाट आउन थालेको छ । चिकित्सकहरू समयमै नआउने, आएका चिकित्सकले पनि पर्याप्त समय नदिने र निजी क्लिनिकमा बढी समय दिने प्रवृत्ति बढेको आरोप लागिरहेको छ । दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामीले ओपीडी सेवा लिने अस्पतालमा व्यवस्थापन पक्षको लापरबाहीका कारण सेवा अस्तव्यस्त बन्दै गएको छ ।

यसअघि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रुना झाको कार्यकालमा अस्पतालको सेवा प्रवाह प्रभावकारी र व्यवस्थित रहेको थियाे । चिकित्सकहरू समयमै उपस्थित हुने र बिरामीलाई पर्याप्त समय दिने अभ्यास स्थापित भएको थियो । तर, हालका मेसु डा. रामनारायण चौधरीको नेतृत्वमा अस्पताल पुनः अव्यवस्थित बन्दै गएको कर्मचारीहरू नै स्वीकार गर्छन् ।

एक कर्मचारी भन्छन्, ‘डा. चौधरी व्यक्तिगत रूपमा इमानदार भए पनि प्रशासनिक रूपमा प्रभावकारी देखिनु भएन । अस्पताल सुधारतर्फ ध्यान पुगेन ।’ अस्पतालभित्र चिकित्सक तथा कर्मचारीले पूर्ण समय नदिने, अनुशासन कमजोर हुने र व्यवस्थापनले कडाइ नगर्ने प्रवृत्तिका कारण सेवा प्रवाह भद्रगोल बनेको छ ।

स्रोतका अनुसार पहिले सुधारिएका धेरै पक्ष अहिले बिग्रिसकेका छन् । बिरामीले समयमै सेवा पाउने अवस्था छैन । मेसु डा. चौधरीले भने मन्त्रालयबाट औपचारिक निर्देशन समयमै नआएको दाबी गरेका छन् । उनका अनुसार ओपीडी सञ्चालन गर्नुपर्ने जानकारी शुक्रबार बिहान मात्र प्राप्त भएको थियो ।

‘सार्वजनिक बिदा हुने कुरा पहिले नै थाहा थियो । तर, ओपीडी चलाउनुपर्ने निर्देशन ढिलो आयो । धेरै डाक्टरहरू अघिल्लो दिन नै बाहिर गइसकेका थिए । छोटो समयमा व्यवस्थापन गर्न सकिएन,’ चौधरीले भने । उनले ओपीडी सञ्चालनमा प्राविधिक समस्या पनि रहेको बताए ।

‘ओपीडी टिकट काट्न बैंकका कर्मचारी चाहिन्छ । तर बिदामा उनीहरू उपलब्ध हुँदैनन् । यदि समयमै सूचना आएको भए केही व्यवस्थापन गर्न सकिन्थ्यो,’ उनले भने । अस्पतालको सेवा सुधारका लागि धेरै पहल भइरहेको डा. चौधरीको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले भने अस्पतालहरुले निर्देशन पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनी भन्छन्, ‘लगातार बिदाका कारण सेवा अवरुद्ध हुन सक्ने देखिएकाले ओपीडी सञ्चालन गर्न निर्देशन दिइएको हो । निर्णय केही ढिलो भएको भए पनि अस्पतालहरूले त्यसलाई पालना गर्नुपर्छ ।’

उनले देशभरका अस्पतालहरूले निर्देशन पालना गरे–नगरेको विषयमा तथ्यांक संकलन भइरहेको र निर्देशन अवज्ञा गर्ने अस्पतालमाथि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए । ‘नागरिकको हितलाई ध्यानमा राखेर निर्णय गरिएको हो । अस्पताल व्यवस्थापनले काम गर्न सकिएन भन्न मिल्दैन,’ डा. केसीले भने ।

सरकारको निर्देशन अवज्ञा गरेको घटनाले कोशी अस्पतालको व्यवस्थापन, उत्तरदायित्व र सेवा गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ । प्रदेशकै प्रमुख सरकारी अस्पतालमा यस्तो लापरबाही देखिनु स्वास्थ्य सेवा प्रणालीकै कमजोरी रहेको सरोकारवाला बताउँछन् । बिरामीको जीवनसँग जोडिएको संवेदनशील क्षेत्रमा यस्ता लापरबाही दोहोरिन नदिन तत्काल सुधार आवश्यक रहेको उनीहरुको भनाइ छ ।

 

error: Content is protected !!