२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

वडाध्यक्ष खान जिल्ला अदालत सुनसरीको मेलमिलापकर्तामा सुचिकृत

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, पुष २३, २०८२

तस्विर : नमो अनलाइन

हरिनगर । सुनसरी जिल्ला अदालतको मेलमिलापकर्ता (Mediator) को रूपमा सुनसरी, हरिनगर गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष मोज्जमिल खान सूचीकृत भएका छन् ।

सुनसरी जिल्ला अदालतमा आयोजित एक कार्यक्रमका बीच जिल्ला न्यायाधीश हरिकृष्ण श्रेष्ठ समक्ष खानले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

मेलमिलाप सम्बन्धी ऐन, २०६८ तथा नियमावली, २०७० को परिधिभित्र रही मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचरणको पूर्ण पालना गर्ने प्रतिबद्धताका साथ शपथ लिएको हो। अब अदालतमा आउने विभिन्न विवादहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्न कानुनी रूपमा भूमिका खेल्नुहुनेछ।

शपथ ग्रहण पश्चात् सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै खानले भने, “सुनसरी जिल्ला अदालतमा माननीय न्यायाधीश ज्यूहरू समक्ष शपथ ग्रहण पश्चात मेलमिलापकर्ताको रूपमा सूचीकृत हुने सौभाग्य प्राप्त भयो। मलाई यो अवसर प्रदान गर्नुहुने सुनसरी जिल्ला अदालत वार एकाइ प्रति म आभारी छु।”

उनले आगामी दिनमा आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने र न्याय सम्पादनमा सहयोग पुर्‍याउने संकल्प समेत व्यक्त गरेका छन्। कार्यक्रममा अदालतका अधिकारीहरू र कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो।