तस्विर : नमो अनलाइन
बिराटनगर। दुहबी नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको कपडामा अचरा फुलबुट्टा भर्ने १ महिने स्तरवृद्धि तालिम आज बिहीबार सम्पन्न भएको छ। दुहबी नगरपालिका–११, तनमुनाका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा ११ जना महिलाको सहभागिता रहेको थियो।
यसअघि गत वर्ष दुहबी नगरपालिकाले तनमुनाका ११ जना महिलालाई उद्यम सञ्चालनका लागि बिउँ पुँजीस्वरूप सिलाइ मेसिन (प्रविधि) हस्तान्तरण गर्दै प्रारम्भिक तालिम प्रदान गरेको थियो। उक्त तालिमपछि महिलाहरूले व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा थप सिप अभिवृद्धिको आवश्यकता महसुस गरी नगर प्रमुख वेदनारायण गच्छादारको पहलमा पुनः १ महिने स्तरवृद्धि तालिम सञ्चालन गरिएको हो।
तालिम समापन समारोहमा नगर प्रमुख गच्छादारले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुहबीका हरेक युवायुवतीलाई कुनै न कुनै माध्यमबाट रोजगारीसँग जोडेर आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। लघु उद्यममार्फत बेरोजगार तथा घरायसी कामकाजी महिलालाई सिपमूलक तालिम र बिउँ पुँजी उपलब्ध गराउँदै व्यवसायिकता र आत्मनिर्भरताको अभियान आफूले निरन्तर अघि बढाइरहेको उनको भनाइ थियो।
“मेरो सपना भनेकै नगरवासीको सन्तुष्टि र सहज जीवनयापन हो। आर्थिक पक्ष सबल नभएसम्म सामाजिक तथा पारिवारिक हिंसाको जोखिम र परनिर्भरतामा बाँच्नुपर्ने बाध्यता अन्त्य हुन सक्दैन,” नगर प्रमुख गच्छादारले भने। उनले निष्कपट र इमान्दारिताका साथ बेरोजगार युवायुवती, अपाङ्गता भएका नागरिक तथा उद्यमी बन्न चाहने सबैलाई उपलब्ध स्रोत, साधन र सिप प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ उद्यम विकास सहजकर्ता दिवेश चौधरी, सहजकर्ता शशिकला विश्वासलगायतको उपस्थिति रहेको थियो।