तस्विर : नमो अनलाइन
इनरुवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका लालविक्रम थापाको उम्मेदवारी कानुन बमोजिम कायमै रहने भएको छ।
मंगलबार मनोनयन दर्ता गराएका थापाविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
इनरुवास्थित निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले उजुरी दर्ता गराएका थिए।

उजुरीमा थापाले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयलाई ७४ लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको र सो रकम लेखापरीक्षणबाट समेत बक्यौता ठहर भइसकेको दाबी गरिएको थियो।
निर्वाचन आयोगका अनुसार उजुरीमाथि आवश्यक जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको थियो।
बिहीबार उजुरीमाथि छलफल गर्न दुवै पक्षलाई निर्वाचन अधिकृतको कार्यालयमा बोलाई जाँचबुझ गर्दा उजुरीमा उठाइएको विषय थापाविरुद्ध विशेष अदालतमा विचाराधीन रहेको पाइएकाले कानुनअनुसार हालका लागि उम्मेदवारी कायम रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैबीच, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ।
हेर्नु होस् उमेदवारी कायम रहेकाहरुको नामावली :


