काठमाडाैँ । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् ।
सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ ।फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।
यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए। १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरुमा भीडभाड रहेको उनकाे भनाइ छ ।सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् ।
उनले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सबारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताए ।