काठमाडौं । दानबहादुर कार्कीले प्रहरीको नेतृत्वको (प्रहरी महानिरीक्षक,आईजीपी) सम्हालेको १०० दिन पूरा भएको छ ।
यो अवधिमा ५ हजार ७८१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ परेका ५ हजार ७८१ प्रतिवादीबाट १ हजार ९६० वर्ष कैद र ३८ करोड ३६ लाख २७ हजार ६४१ जरिवाना भुक्तान गर्न बाँकी छ । कर्तव्य ज्यान सम्बन्धी १२३ घटनाका १८८ अभियुक्त पक्राउ गरेका छन् ।
उनी २७ कात्तिकमा आईजीपी बनेका थिए । त्यसयता निर्वाचनको वातावरण बनाउन प्रहरीले सुरक्षा हिसाबले उल्लेख्य भूमिका खेलेको बताइएको छ । निर्वाचन सुरक्षा विश्लेषणको कमाण्ड एसएसपी दयानिधी ज्ञवालीले गरेर काम गरिरहेका छन् ।
उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री र जनमुखी एंव नागरिकमैत्री काम गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
यो अवधिमा कार्यसम्पादन मूल्यांकन मार्गदर्शन कार्यान्वयन गरी जिल्ला प्रहरी कार्यालयहरूमा मासिक कार्यसम्पादन मापन गर्ने पद्दतीको सुरुवात गरिएको बताइएको छ ।
वरिष्ठ सईसम्मका प्रहरी कर्मचारीलाई आकस्मिक सहुलियत कर्जा सञ्चालन गरिएको छ । प्रहरीको राशनको स्केल पनि १ फागुनदेखि लागु हुनेगरी वृद्धि गरिएको छ । यो बीचमा सात वटै प्रदेशमा सुरक्षा गोष्ठी सम्मन्न भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एन्ड एडभान्स एनालाइटिक्स सेलको स्थापना गरिएको छ ।