विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको पूर्वाञ्चल आइसक्रिम पार्लरमा बुधबार बिहान करिब १० बजे आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागी नियन्त्रणका लागि मोरङको लेटाङ र सुन्दरहरैंचा तथा सुनसरीका इनरुवा, दुहबी, रामधुनी र धरानबाट दमकल बोलाइएको थियो। आगो पूर्ण रूपमा निभाउन झन्डै दुई घण्टा लागेको प्रहरीले जनाएको छ। इटहरीमै दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाइ भएको बताइएको छ।
स्थानीयले सामाजिक सञ्जालमार्फत दमकल अभावप्रति असन्तुष्टि जनाएका छन्। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार उच्च जोखिमबीच करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको बताए।
इटहरी, कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र भए पनि यहाँ आगलागीका घटना दोहोरिने गरेका छन्। यसअघि उपमहानगरपालिकासँग तीनवटा दमकल ‘स्ट्यान्डबाइ’मा रहे पनि गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ती सबै जलाइएका थिए।
नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार नयाँ दमकल खरिद प्रक्रिया टुंगिएको छ र वैशाखभित्र ल्याउने लक्ष्य रहेको छ। उनका अनुसार आन्दोलनका क्रममा दमकलसहित सवारी साधन र भौतिक संरचनामा करिब ३७ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।
पौडेलले अत्यावश्यक सेवामा प्रयोग हुने सार्वजनिक सम्पत्ति जोगाउन नसक्दा अहिले समस्या झेल्नु परेको उल्लेख गर्दै यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताए।