१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

एक सातामा सुनसरीबाट तिन बालबालिका वेपत्ता, सुरक्षा निकायको फितलो अनुसन्धान

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, कार्तिक १६, २०८२

तस्विर : नमो अनलाइन

इनरुवा। सुनसरीमा एक हप्तामा तीन जना बालबालिका बेपता भएका छन् ।

घरमा जानकारी नदिई तीनैजना बेपत्ता भएकाले स्थानीयहरु अपहरणमा परेको आशंका गरेका छन्।

तिहार र छठको बीचमा एकै सातामा तीन बालिका बेपता भएपछि स्थानीयहरु अपहरणको आशंका गर्दै सशंकित बनेको इनरुवाका स्थानीय निर्मल रिजालले बताए ।

पहिलो घटनामा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर – ५ स्थित घर भएकी बालिका कार्तिक ३ गते देउसी भैलो खेल्न भनि घरबाट निस्किएकी १५ वर्षिया भावना पाण्डे अझै सम्म सम्पर्कमा आएकी छैनन्।

उनको अपहरण भएको वा हराएको भनि दुई थरीको आशंका गरिएको छ। सुरुमा देउसी भैलो खेल्न गएकी पाण्डे सम्पर्कमा नआउँदा हराएको भनिएकोमा पिडित परिवारका सदस्यहरूले सात दिनसम्म सम्म सम्पर्कमा नआउँदा अपहरण भएको निषकर्शमा पुगेको जनाइएको छ । पिडितको आमाले बालिकालाई कतै देख्नु वा भेट्नु भएमा परिवार वा नजिकै को प्रहरीमा बुझाइ दिनु हुन अनुरोध गरेकी छिन्।

बालिका पाण्डे इनरुवा स्थित सुर्यकिरण एकेडेमीमा कक्षा ८ मा अध्ययनरत बिधार्थी हुन्। कार्तिक ३ गते लक्ष्मीपुजाको दिन भैली खेल्ने भनी घरबाट हिडेकि आजसम्म फेला पर्न नसकेको प्रिन्सिपल मनोजकुमार यादवले जानकारी दिए।

परीवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा बालिकाको खोजी गर्न उजुरी दिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बालिका बेपत्ता भएको, हराएको वा अपहरणमा परेको भन्ने कुरा यकिन नभएको प्रतिकृया दिएका छन्। प्रहरीले खोजी थालेको भएपनि पत्ता लागेको छैन् ।

त्यस्तै दोस्रो घटना कार्तिक १० गते सोमबारको हो। जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं.–३ इक्राई टोलका स्थानीय राजप्रिय राईको १७ वर्षीया छोरी जस्मिता राई बेपत्ता भएको छ । बालिका राई बराहक्षेत्र नगरपालिका १० बाहुनी टोल दिदीको घर घुम्न जान्छु भनि घरबाट हिडेकोमा हालसम्म सम्पर्क विहिन रहेको छ ।

बालिका सम्पर्कमा नआएपछि दाजु जोन राईले अस्थायी प्रहरी चौकी बाङ्गेमा लिखित हुलिया निवेदन दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै तेस्रो घटना कार्तिक १ गते बिहानको हो । जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ४ माथिल्लो जमटोकीयाका श्यामलाल चौधरीको १४ वर्षीय छोरा आदर्श चौधरी बेपत्ता भएको छ । चौधरीले सुनसरी पुल तिर घुम्न जान्छु भनि घरबाट निस्किएमा हालसम्म पनि घर नआई सम्पर्क बिहिन भएकोले परिवारले खोजीका लागि अपिल गरेको छ।

हप्तादिनसम्म छरछिमेकी, साथीभाई समेतकोमा खोजतलास गर्दा फेला नपरेकोले बेपत्ता भएको बालकको हजुर आमा वेचुन चौधरीले कार्तिक १० गते प्रहरी चौकी भरोलमा मौखिक हुलिया जानकारी दिएको छ ।

प्रहरीले जानकारी आएपछि खोजतलास गर्ने कार्य भईरहेको र हुलिया सहित बालकलाई आ–आफ्नो एरिया इलाकामा खोजतलास गरि फेला परेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराइ दिन हुन अनुरोध गरेको जनाएको छ ।

यसरी जिल्लाबाट एक सातामै तिन बालबालिका वेपत्ता हुनु र सुरक्षा निकायले पता लगाउन नसक्नुले सुरक्षा चुनौतीको गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।

पछिल्लो एक हप्ताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट तीन जना बालबालिका हराउनाले स्थानीयमा डरको माहोल छ। तर सुरक्षातर्फ जिम्मेवार निकायले अहिलेसम्म कुनै ठोस सुराग फेला पार्न नसक्दा अभिभावकहरूमा चिन्ता र स्थानीयवासीमा असन्तुष्टि बढेको छ।

परिवारका सदस्यहरूले प्रहरीमा जानकारी गराए पनि अनुसन्धान सुस्त र परिणाममुखी नभएको गुनासो गरेका छन्।

“हामीले प्रहरीलाई सबै विवरण दिएका छौँ, तर सात दिन बितिसक्दा पनि कुनै न कुनै ठोस प्रगति भएको छैन,” एक अभिभावकले आक्रोश पोख्दै भने।

स्थानीयवासीहरूका अनुसार पछिल्लो समय सुनसरीमा बालबालिका हराउने घटनामा वृद्धि भइरहेको छ। तर सुरक्षातर्फको समन्वय र तत्काल खोजतलासमा देखिएको कमजोरीले घटनाहरू रहस्यमय बन्दै गएको टिप्पणी गर्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव कुमार थेवेले भने, “तीनै घटनाको खोजतलास भइरहेको छ। विभिन्न टोली परिचालन गरिएको छ र अनुसन्धान अघि बढाइएको छ।” तर  हराएको, अपहरणमा परेको वा वेपत्ता भएको भन्नेबारे स्पष्ट तथ्य बाहिर आएको छैन।

सम्पादकीय टिप्पणी :

लगातार बालबालिका बेपत्ता हुने घटनाले सुरक्षा संयन्त्र प्रतिको जनविश्वासमा प्रश्न उठाएको छ। यस्ता घटनामा तत्काल, सम्भावित र पारदर्शी अनुसन्धान जरुरी देखिन्छ।