२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै 

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, कार्तिक २०, २०८२

तस्विर : नमो अनलाइन

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0″ हुने भएको छ।

इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका विराटनगरको ड्रिम गार्डेनमा हुनेछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले उद्घाटन गर्नुहुनेछ।

आईसीयू भविष्यलाई आकार दिँदैः नयाँ पुस्तालाई सशक्तिकरण गर्दै भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य पूर्वाञ्चलमा क्रिटिकल केयर सम्बन्धी उपचार क्षेत्रमा कार्यरत चिकित्सक, नर्स र पाराटेडिक्सको कार्य दक्षता बढाउनुका साथै नवीनतम ज्ञान र सीप प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

दुई दिने सम्मेलन सुरु हुनुभन्दा एक दिनअघि अर्थात् कात्तिक २० गते विराट मेडिकलको सभा हलमा तीनवटा कार्यगोष्ठी आयोजना गरिनेछ। पोइन्ट अफ केयर अल्ट्रासाउन्ड, होमो फर फ्युजन र मेकानिकल भेन्टिलेसन फर नर्सेज विषयमा कार्यगोष्ठी सञ्चालन हुने बताइएको छ।

कार्यक्रममा नेपालभित्रका मात्र नभई छिमेकी राष्ट्र भारत, बंगलादेश र श्रीलंकाका क्रिटिकल केयर क्षेत्रका विशेषज्ञ चिकित्सक र नर्सिङ क्षेत्रका विशेषज्ञहरूले प्रशिक्षण गर्नुहुनेछ।

कन्क्लेभमा विभिन्न कार्यशाला, अन्तर्राष्ट्रिय र राष्ट्रिय विशेषज्ञहरूबाट मुख्य व्याख्यान,आफ्नो अनुभव,सोधपत्र प्रस्तुत, प्यानल छलफल तथा आईसीयूका चुनौतीपूर्ण विषयमा बहस सत्र आयोजना गरिने आयोजकले जानकारी दिएको छ। युवा अनुसन्धानकर्ताहरूले आफ्ना शोधपत्र र पोस्टर प्रस्तुत गर्न सक्नेछन्। यस्तै, प्रायोगिक सीप विकासका लागि कार्यशाला र नयाँ पुस्ताका आईसीयू प्रविधि प्रदर्शन गर्ने प्रदर्शनी पनि आयोजना गरिनेछ।

यस कन्क्लेभमा गहन उपचार विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयरमा संलग्न चिकित्सक, नर्स र पाराटेडिक्स क्षेत्रका ४०० जनाभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको अध्यक्षता प्रो.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गर्नुहुनेछ।