तस्विर : नमो अनलाइन
दुहबी। उमेर हदका कारण अनिवार्य अवकास लिएका पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रशंसापत्र र नगद २०/२० हजार रुपैयाँसहित
दुहबी नगर प्रमुख वेद गच्छेदारले सम्मानपूर्वक बिदाइ गरेका छन्।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर गच्छेदार अत्यन्त भावुक बने। न्यून सेवा–सुविधामा पनि जीवनको अमूल्य समय समाज सुधार, मानविय विकास तथा जनस्वास्थ्यका क्षेत्रमा समर्पण गर्ने स्वयंसेविकाहरूलाई “परोपकारी आमाहरू” भन्दै उनले उच्च सम्मानका साथ सलाम अर्पण गरे।

दुहबी नगरपालिकाले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आफ्टरडार्क पार्टी प्यालेसमा आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा मेयर गच्छेदारले संघीय सरकारलाई स्वयंसेविकाको सुविधामा वृद्धि गर्न पनि आग्रह गरे।
“सरकारले काम त दियो, तर दाम दिएन,” मेयरले भने, “स्थानीय सरकारले सकेको सुविधा दिइरहेको छ, तर यो पर्याप्त छैन। कम्तीमा पनि सरकारी दैनिक ज्याला रु ५९५ बराबर सुविधा सुनिश्चित गरियोस्।”

उपमेयर मेनुका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख सुवर्ण घिमिरे, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतो, पिंकी भगतसहित अन्य सहभागी थिए।
“आज मातृ दिवस पनि हो, स्वयंसेविका दिवस पनि। संयोगवश दुई समूहकै आमाहरुलाई एकैदिन सम्मान र नमन गर्ने मौका पाएँ,” मेयरले भने।
स्वयंसेविकाको मनोबल उच्च राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट आवश्यक सेवा, सुविधा र सहयोग गर्न प्रतिबद्धता प्रकट गरे।