सुनसरी । नेपाली कांग्रेसभित्र सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा विजय कुमार गच्छादारको विकल्प खोज्ने बहस तीव्र बन्दै गएको छ। बर्जु गाउँपालिका, गढी गाउँपालिका, दुहबी नगरपालिका तथा इटहरी उपमहानगरपालिकासम्म पार्टीका स्थानीय तहका कार्यकर्ताले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउन थालेका छन्।
हालै बर्जु गाउँपालिकामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा समेत “अब कहिलेसम्म पुरानै नेतृत्व ?” भन्ने आवाज खुलेर उठेको थियो। स्थानीय कार्यकर्ताहरूले विजय गच्छादार अहिलेको राजनीतिक परिवर्तनको संवाहक बन्न नसकेको टिप्पणी गर्दै देश गम्भीर मोडमा पुगेको अवस्थामा नयाँ सोच र नयाँ अनुहार आवश्यक भएको बताएका छन्।
कार्यकर्ताहरूका अनुसार अहिले जनतासँग लैजान मिल्ने स्पष्ट एजेण्डा र प्रभावशाली ‘फेस’ को अभाव देखिएको छ। विशेषगरी देशमा देखिएको Gen-Z आन्दोलन, सामाजिक सञ्जालको प्रभाव र युवामाझ बढ्दो राजनीतिक चेतनाले परम्परागत शैलीको राजनीतिलाई चुनौती दिएको उनीहरूको भनाइ छ।
युवाहरूले स्थानीय स्तरमा अवसर नपाएको गुनासो गर्दै “हामी कहिले नेतृत्वमा आउने ?” भन्ने प्रश्न पनि उठाएका छन्। यही कारण पार्टी संगठन मजबुत बनाउन नेतृत्व हस्तान्तरण अपरिहार्य भएको निष्कर्षमा धेरै कार्यकर्ता पुगेका छन्।
यसैबीच, कांग्रेसबाट निर्वाचित मेयर बेद गच्छादारलाई वैकल्पिक उम्मेदवारका रूपमा अघि सार्ने चर्चा बढ्दै गएको छ। कतिपय कार्यकर्ताले खुलेरै उनको नाम लिएका छन् भने केहीले घुमाउरो ढंगले समर्थन जनाएका छन्। हालै उम्मेदवार सिफारिस प्रक्रियामा समेत बेद गच्छादारको नाम परेको स्रोतले जनाएको छ।
यता विजय कुमार गच्छादारले भने आफूले सात वर्ष जेल जीवन बिताएको, कठिन परिस्थितिमा पार्टी सञ्चालन गरेको र आदिवासी, जनजाति तथा मधेशी समुदायमा आफ्नो बलियो पकड रहेको दाबी गर्दै आएका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आफूलाई पुनः नेपाली कांग्रेसमा फर्कन आग्रह गरेको स्मरण गराउँदै पार्टीलाई अझै आफ्नो अनुभव आवश्यक रहेको उनको भनाइ छ।
तर कार्यकर्ताहरूको धारणा फरक देखिन्छ। उनीहरू भन्छन्, “बी.पी. को विचार सधैं प्रेरणादायी भए पनि त्यसैलाई भजाएर मात्र अब चुनाव जित्न सकिँदैन।” राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो संगठन नभए पनि उल्लेख्य सिट जितेको उदाहरण दिँदै उनीहरूले समय अनुसार रणनीति र नेतृत्व परिवर्तन नगरे कांग्रेसले पुनः हार व्यहोर्न सक्ने चेतावनी दिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार सुनसरी–३ मा भइरहेको यो बहस व्यक्तिविशेषविरुद्ध नभई पुस्तान्तरण र समय सापेक्ष नेतृत्व खोजीको संकेत हो। अनुभवी नेताको मार्गदर्शन र नयाँ पुस्ताको ऊर्जा मिलाउन सके कांग्रेसका लागि यो क्षेत्र पुनः सुरक्षित बन्न सक्ने उनीहरूको निष्कर्ष छ।