तस्विर : नमो अनलाइन
विराटनगर । कोशी गाउँपालिका–७ हरिपुर स्थित समाजमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध संगठित आवाज उठाउन युवाहरु संगठित भएका छन्। एक कार्यक्रमको आयोजना गर्दै सुनसरी जिल्लाकै पहिलो वडास्तरीय जेन–जी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।
सम्मेलन केवल औपचारिक कार्यक्रममै सीमित रहेन। यसले वडास्तरमै जेन–जी संगठनको औपचारिक विस्तार गर्दै युवाहरूलाई सुशासन र सामाजिक रूपान्तरणको अभियानमा प्रत्यक्ष जोड्ने प्रयास गर्यो। आयोजकका अनुसार, भ्रष्टाचारविरुद्ध सचेतना फैलाउने र खबरदारी गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले युवाहरूलाई सम्बोधन गर्दै भ्रष्टाचार केवल ठूला काण्ड वा आर्थिक लेनदेनमा मात्र सीमित नरहेको बताए।
“कर्मचारीले समयमा कार्यालय नआउनु, सेवाग्राहीको काम ढिलासुस्ती गर्नु पनि भ्रष्टाचारकै रूप हो,” उनले भने, “नागरिक आफैं इमानदार नबन्दासम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो हुन्छ।”
उनको भनाइमा स्थानीय स्तरमा हुने कार्यक्रम, योजना र सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्न युवाहरूको भूमिका निर्णायक हुन्छ। “आज जेन–जी पुस्ता सचेत भयो भने भोलिको प्रशासन स्वतः सुधारिन्छ,” अन्सारीले जोड दिए।
कार्यक्रममा बोल्दै पत्रकार अनुस मेहताले विकासको बहसलाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याए। “विकास एक–दुई जना अगुवाले मात्रै अघि बढाएर सम्भव हुँदैन,” उनले भने, “समाज परिवर्तनका लागि सबै नागरिक, विशेषगरी युवा पुस्ता, एकजुट हुनुपर्छ।”
सम्मेलनमा सहभागी युवाहरूले पनि कार्यक्रमप्रति उत्साह व्यक्त गरे। एक स्थानीय सहभागी युवाले भने, “हामीलाई राजनीति भन्दा टाढा राख्ने प्रयास हुन्छ, तर यस्ता कार्यक्रमले हाम्रो भूमिका कति महत्वपूर्ण छ भन्ने अनुभूति गराएको छ।”
सम्मेलनबाट जेन–जी युवा समिति गठन गरिएको छ। समितिको संयोजकमा डम्बर बजगाईं चयन भएका छन् भने उप–संयोजकमा थोमस मेहता, सचिवमा सुरज गुप्ता, सह–सचिवमा संकर मरियैत र कोषाध्यक्षमा इन्द्रजित सदा चयन भएका छन्। नवगठित समितिले वडास्तरमै सुशासन, सामाजिक सचेतना र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने जनाएको छ।
स्थानीय युवाहरूको उल्लेख्य सहभागितामा सम्पन्न सम्मेलनले जेन–जी पुस्ता केवल सामाजिक सञ्जालमा सीमित नभई वास्तविक मैदानमै सक्रिय हुँदै गएको सन्देश दिएको छ। हरिपुरबाट सुरु भएको यो पहल आगामी दिनमा कोशी गाउँपालिका हुँदै जिल्लाभर फैलिने अपेक्षा गरिएको छ।
ग्राउन्ड लेभलबाट उठेको यो आवाजले सुशासन र पारदर्शिताको बहसलाई नयाँ ऊर्जा दिने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।