२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

ज्ञानेन्द्रबहादुर कार्की: पराजय, पुनरागमन र राजनीतिमा टिकिरहने नेता

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, माघ २०, २०८२

तस्विर : नमो अनलाइन

विराटनगर। नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको राजनीतिक यात्राले नेपाली संसदीय राजनीतिमा निरन्तरता, धैर्य र सत्ताभित्रको विश्वास राजनीतिलाई कसरी सन्तुलनमा राखिन्छ भन्ने चित्र प्रस्तुत गर्दछ।

विद्यार्थी राजनीतिबाट उदाएका कार्की संघीय सरकारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा जिम्मेवारी सम्हालि सकेका प्रभावशाली नेता हुन्।

नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका कार्की २०३९ सालमा कांग्रेसका नेता विमलेन्द्र निधिको उत्तराधिकारीका रूपमा नेविसंघको अध्यक्ष बनेपछि पार्टीको मूलधारमा स्थापित भए। त्यस समयदेखि उनी संगठनात्मक राजनीतिमा पकड बनाउँदै अघि बढे।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँगको निकटताले उनलाई वैचारिक र राजनीतिक दुवै हिसाबले सुदृढ बनाएको देखिन्छ।

कार्कीको चुनावी इतिहास भने सधैं सहज थिएन्। भोजपुर–१ बाट तीन पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित हुँदा उनी प्रत्यक्ष जनमतको कठोर परीक्षणबाट गुज्रिएका छन्।

तर, ती पराजयहरूले उनलाई राजनीतिबाट विस्थापित गरेनन्। २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धाबाट अलग रहेर समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गर्नु उनको राजनीतिक पुनरागमनको एउटा रणनीतिक मोड थियो।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट विजयी हुँदै कार्कीले प्रत्यक्ष जनमतको आधारमा संघीय संसदमा आफ्नो स्थान सुरक्षित गरे। यही निर्वाचनपछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा अर्थमन्त्रीको जिम्मेवारी पाउनु उनको पार्टीभित्रको भरोसा र अनुभवको परिणाम मानिन्छ। जलस्रोत मन्त्रालय सम्हालिसकेका पछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व समेत गरेका थिए।

कार्कीलाई कांग्रेसभित्र ‘संस्थागत’ राजनीतिज्ञका रूपमा हेरिन्छ—जो संगठन, नेतृत्व र सत्ता संरचनाबीच सन्तुलन मिलाउन जान्दछन्। चुनावी असफलता, समानुपातिक प्रतिनिधित्व र प्रत्यक्ष विजय—तीनै अनुभव बोकेका कार्कीको वर्तमान भूमिका केवल जितेर संसद छिर्ने, मन्त्रालय सम्हाल्नेमै सीमित छैन। उनको जितले संघीय शासन व्यवस्थामा कानूनी सुधार, संसदीय अभ्यासको सुदृढीकरण, जेन-जी पुस्ताको माग सम्बोधनका लागि राजनीतिक सहमति तथा विकाश निर्माणकार्यमा ठुलो फड्को मार्ने अपेक्षा आम सर्वसाधारणले गरिरहेएको छ।

नेपाली राजनीतिमा लोकप्रियतामात्र होइन, निरन्तरता र संगठनभित्रको विश्वास पनि सत्ता यात्राका निर्णायक आधार हुन् भन्ने सन्देश कार्कीको राजनीतिक यात्राले स्पष्ट रूपमा देखाउँछ।

error: Content is protected !!