२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

सुनसरी ४ : कार्की र कुसियैत दुवैलाई पछि पारी जित हाँसिल गर्ने दाउमा रास्वपा

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, माघ २०, २०८२

तस्विर : फाईल

बिराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ लाई कांग्रेस एमाले दुवैले आफ्नो परम्परागत विरासत भएको क्षेत्रको रुपमा लिने गरेका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ राजनीतिक दलहरूले आन्तरिक तयारी तीव्र पार्दै लगेका छन्।

यसअघिका हरेक निर्वाचनमा यो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुँदै आएको छ। आगामी निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमाले नै विजेता र उपविजेता बन्ने हुन् कि नयाँ शक्तिले पकड जमाउने हो यकिन भइसकेको छैन।

२०७९ को निर्वाचनमा सुनसरी ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए। त्यतिबेला एमालेका जगदीशप्रसाद कुसियैत कार्कीसँग ११२ मतको झिनो अन्तरले मात्रै पराजित भएका थिए।

कार्कीले ३१ हजार ६१२ मत प्राप्त गर्दा कुसियैतले ३१ हजार ५ सय मत पाएका थिए। त्यतिबेला एमाले एक्लै चुनावी मैदानमा थियो। तर, कार्कीलाई भने कांग्रेससँगै तत्कालीन नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहितका पाँच दलीय गठबन्धनको साथ थियो।

यसपटक पनि यहाँ कांग्रेस र एमाले दुवैले आफ्ना पुराना र अनुभवी उम्मेदवारहरूलाई नै मैदानमा उतारेका छन्। ०७९ का प्रतिस्पर्धीद्वय कार्की र कुसियतै यसपटक पनि यहाँ उम्मेदवार छन्।

कांग्रेसका लागि भोक्राहा नरसिंह र हरिनगरा गाउँपालिका मतदाताको हिसावले मुख्य केन्द्र मानिन्छ। कांग्रेसले यी युई पालिकालाई आफ्नो बलियो पकड क्षेत्रको रुपमा लिने गरेको छ।

नेकपा एमालेको भने यहाँ खासै पकड क्षेत्र देखिँदैन। कोशी गाउँपालिका उम्मेदवार कुसियैतको घर भएको कारण त्यस क्षेत्रको मत उनलाई जाने आँकलन गर्न सकिन्छ। तर अघिल्लो चुनावमा पनि त्यहाँबाट असाध्यै कम मत कुसियैतलाई खसेको थियो।

यसअघिको निर्वाचनअघि बराहक्षेत्र नगरपालिकामा एमालेको राम्रो प्रभाव रहेको प्रचार भएको थियो। तर, निर्वाचन परिणामले बराह क्षेत्रका वडाहरुमा पनि काँग्रेसकै बर्चश्व रहेको पुष्टि गरेको छ।

तर, अहिले अवस्था फेरिएको आँकलन यहाँका मतदाताले गरेका छन्। अहिले सुनसरी ४ का पालिका र वडाहरुमा पुराना दलको खस्कँदै गएको देखिन्छ।

यो निर्वाचन क्षेत्रमा बराहक्षेत्रको ६ वटा वडा पर्छन्। त्यसैगरि रामधुनी नगरपालिकाको एउटा, इनरुवाका ३ वटा, हरिनगर गाउँपालिकाका ६ वटा वडा पर्छन् भने भोक्राहा नरसिंह र कोसी गाउँपालिको पूरै क्षेत्र सुनसरी ४ मा समेटिएको छ।

अहिले यी वडा र पालिकाहरुमा कुनै पनि पुराना दलको राम्रो प्रभाव नरहेको नेताहरु नै स्वीकार्छन्। काँग्रेस सुनसरीका नेता विरेन्द्र साह यो पटकको निर्वाचन परिणाम कस्तो आउँछ, अलिहे नै यकिन गर्न नसकिने बताए। उनले भने, ‘नेताहरुले आफू सत्ता र शक्तिमा हुँदा विकास निर्माणले जनताको मन जितेको भए यस्तो अवस्था आउने थिएन। यहाँ कुनै पनि दलले सजितै चुनाव जित्छन् भन्ने देखिँदैन।’

परम्परागत रुपमा बराहक्षेत्र, कोसी र रामधुनीलाई एमालेको पटड क्षेत्र मानिन्थ्यो। तर, गत निर्वाचनमा यी पालिकाबाट एमालेले खासै मत पाएन।

‘काँग्रेसको पकड क्षेत्र मानिएको भोक्राहा नर्सिङबाट बरु अघिल्लो निर्वाचनमा हामीलाई राम्रो मत आएको थियो,’ एमालेका एक नेताले भने, ‘हामीले आँकलन गरेका ठाउँमा गएको निर्वाचनमा पनि राम्रो मत नआएकाले यसपटकको निर्वाचनमा के हुन्छ, अनुमान गर्न सकिएको छैन।’

यसपटक एमाले र कांग्रेसलाई अघिल्ला निर्वाचनमा जस्तो सजिलो नभएको मतदाताहरुको बुझाई छ। प्रकाशपुरका स्थानीय धनशेर लिम्बू भन्छन्, ‘बराहक्षेत्र र आसपासका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो सक्रियता बढाएको छ। २०७९ सालमा जीवन श्रेष्ठ उम्मेदवार बन्दा पनि यहाँ रास्वपाले राम्रै मत पाएको थियो। यो पटक हामी यहाँबाट पुराना दलले नसोचेको मत ल्याउँदैछौँ।’

यसपटक यो निर्वाचन क्षेत्रबाट जसपा, एमाले, कांग्रेस, राप्रपा, नेकपा लगायतका दलका असन्तुष्ट मतदाताले रास्वपामा मत दिनसक्छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले दिपक साहलाई उम्मेदवार बनाएको छ।

गत निर्वाचनमा रास्वपाका जीवनकुमार श्रेष्ठले ३ हजार भन्दा धेरै मत ल्याएका थिए। तर, यसपटक रास्वपा एजेन्डा बिहीन ढंगले चुनावमा जाँदैछ। मतदाता भने पुराना र नयाँ दुवै शक्तिसँग एजेन्डा खोजिरहेका छन्।

आफ्ना केही एजेन्डा जनतासम्म नपुग्दासम्म रास्वपालाई पनि अहिले भोट सजिलो छैन। रास्वपाका उम्मेदवार साह भने यसपटक सुनसरी ४ बाट आफ्नो जितलाई कसैले रोक्न नसक्ने दाबी गर्छन्।

निर्वाचन नजिकिँदै गर्दा नेताहरूले आफ्ना प्रभाव क्षेत्र जोगाउन र विपक्षीको गढमा छिर्न घरदैलो र आन्तरिक छलफललाई तीव्रता दिएका छन्। सानो मतान्तरले नतिजा उलटपुलट हुनसक्ने यस क्षेत्रमा साना दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले मुख्य दलहरूलाई थप दबाब परेको देखिन्छ।

कांग्रेसबाट चौथो पटक उम्मेदवार बनेका ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवारी दर्ता देखि नै आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत छन्। यसअघि चुनाव जितेर केही विकास निर्माणका काम गरेकाले यसपाली पनि आफूले जित्ने कार्कीको भनाइ छ। जितको योजनासहित कार्की यही क्षेत्रमा निरन्तर रहेर कार्यकर्ता परिचालन गरिरहेका छन्।

उनी हरेक दिन इनरुवामा रहेको कांग्रेस सम्पर्क कार्यालयमा पुग्छन्। त्यहाँ आएका नेता कार्यकर्ताहरुसँग भेटघाट गर्छन् र पार्टीले बनाएको चुनावी एजेन्डामा केन्द्रीत हुन्छन्। बुधबार र बिहीबार पनि दिनभर नै उनी कार्यकर्ता भेटघाटमा व्यस्त थिए।

बिहीबार उनले चुनावी अभियानका क्रममा इनरुवास्थित सम्पर्क कार्यालयमा कार्यकर्ताहरूसँगको भेटघाट र प्रकाशपुरमा आयोजित युवा पुस्ता (जेन–जी) सँग अन्तक्रिया गरे।

त्यहाँ उनले अबको आफ्नो प्राथमिकता खानेपानी र सामाजिक सुरक्षामा रहने बताए।

पार्टीभित्र पूर्व सभापति शेरबहादुर देउवाको विस्वास पात्रको रुपमा चिनिएका कार्कीलाई उनी भित्रैका कांग्रेसीले धोका दिने हुन् की भन्ने त्रास भने धेरै छ।

विशेष महाधिवेशनको विपक्षमा रहेका कार्की भने अहिले पनि आफ्नो क्षेत्रमा आन्तरिक एकता मजबुत रहेको दाबी गर्छन्।

विशेष महाधिवेशनपछिको कांग्रेस थप एकताबद्ध भएको र लोकतन्त्रको स्थायित्वका लागि यो चुनाव निर्णायक हुने उनको तर्क छ।

आफ्नो पार्टी सरकारमा हुँदा सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको दाबी कांग्रेसका क्षेत्रीय सभापति एयुब अन्सारीको छ।

विशेषगरी लौकीदेखि रामधुनी जोड्ने सडक, चक्रघट्टी–धरान सडक र प्रदेशकै ठूलो क्षमताको भनिएको टाउन हल निर्माणले जनतामा सकारात्मक सन्देश दिएको उनको बुझाइ छ।

यही क्षेत्रबाट २०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका एमालेका कुसियैत २०७९ सालको निर्वाचनमा कार्कीसँग पराजित भएका थिए।

त्यतिबेला झिनो मतान्तरबाट कार्कीसँग पराजित भएका कुसियैतलाई यसपटक सहानुभूतिको मत पनि आउने आश छ। प्रदेशमा मन्त्री भएको बेला गरेको कामलाई देखाएर यसपटक चुनाव जित्ने दावी उनको छ।

झण्डै २ अर्बको कोसी रिफ्रेसमेन्ट सेन्टर, कोसीटप्पु वन्यजन्तु क्षेत्रको संरक्षणमा गरेको लगानीलाई उनले आफूले गरेको कामका रुपमा अघि सारेका छन्।

उनले कोसी गाउँपालिकाको फनपार्क, आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने पालिकाहरुमा सामुदायिक भवन, मन्दिर निर्माण र संरक्षण, नदीको तटबन्ध, बराह क्षेत्रमा करिब एक अर्बको योजना, भोक्राहा नर्सिङमा सडक कालोपत्रे, छठघाटहरु निर्माण जस्ता कामलाई उनले आफ्नो निर्वाचन जित्ने अतियारको रुपमा प्रयोग गर्न खोज्दैछन्।

कुसियैत आफूलाई स्थानीय बासिन्दासँग नजिक रहेको र आफूले जनताको आधारभूत आवश्यकतामा काम गरेको दाबी गर्छन्।

उनले आगामी निर्वाचनका लागि सारेका एजेन्डाहरुमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेटिएका छन्। उनी भन्छन्, ‘यसअघि पनि काम गरेको थिएँ, निर्वाचन जितेँ भने आगामी दिनमा त्यो भन्दा धेरै गर्नेछु।’

यहाँका मतदाताहरू भने यसअघि निर्वाचित जनप्रतिनिधिका कार्य सम्पादन, व्यक्तिगत विश्वास र भविष्यका योजनालाई आधार मानेर निर्णय गर्ने तयारीमा छन्।

साना दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले यस क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ।

२०७९सालको निर्वाचनमा यो क्षेत्रमा सबैभन्दा धेरै मत नेपाली कांग्रेसले पाएको थियो। त्यतिबेला कांग्रेसले २६ हजार ४५२ मत प्राप्त गरेको थियो भने नेकपा (एमाले)को २२ हजार ४३ मत पाएको थियो।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५ हजार ४९ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा)को ४ हजार ७१३ मत प्राप्त गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ हजार ४०४ मत पाएको थियो।

error: Content is protected !!