तस्विर : नमो अनलाइन
विराटनगर // विश्व हिन्दु परिषद् नेपालले विराटनगरमा हिन्दु धर्मावलम्बीहरूको आस्था र परम्परासँग जोडिएका दुई महत्वपूर्ण पर्व श्रीराम जन्मोत्सव (राम नवमी) र हनुमान जन्मोत्सवका अवसरमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने भएको छ।
नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषद् नेपाल, कोशी प्रदेशका अध्यक्ष देवेन्द्र गुप्ताले चैत १३ गते (शुक्रबार) श्रीराम जन्मोत्सवको अवसरमा परम्पराअनुसार भव्य बाइक र्याली आयोजना गरिने जानकारी दिए।
उक्त र्यालीमा सयौं मोटरसाइकल सहभागी हुने अपेक्षा गरिएको छ। र्यालीले विराटनगरका प्रमुख चोक तथा बजार क्षेत्रहरू परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, चैत १९ गते (बिहीबार) हनुमान जन्मोत्सवका अवसरमा रथसहितको भव्य शोभा यात्रा आयोजना गरिने उनले बताए। उक्त शोभा यात्रामा भगवान श्रीराम, सीता, लक्ष्मण तथा हनुमानको झाँकीसहित रथ परिक्रमा गराइनेछ।
शोभा यात्रामा बाजागाजा, भजन-कीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ।
अध्यक्ष गुप्ताका अनुसार, यी कार्यक्रमहरूलाई धार्मिक सद्भाव, सांस्कृतिक संरक्षण तथा सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको हो। उनले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने विश्वास व्यक्त गरे।
कार्यक्रमहरूलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई प्राथमिकता दिइएको जनाउँदै सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय गरिने पनि उनले जानकारी दिए।
साथै, सम्भावित भीड व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा आकस्मिक सेवाको तयारीका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिने उल्लेख गरिएको छ।
उक्त अवसरमा अध्यक्ष गुप्ताले सबै धर्मावलम्बी तथा आम नागरिकलाई आपसी सद्भाव कायम राख्दै कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।
श्रीराम जन्मोत्सवअन्तर्गत आयोजना हुने बाइक र्यालीको संयोजकको जिम्मेवारी सन्दीप साहलाई दिइएको छ भने हनुमान जन्मोत्सवको शोभा यात्राको संयोजक विजय साहलाई तोकिएको छ।
आयोजक समितिले दुवै कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ।
