१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

यातायात कार्यालय इटहरीमा अनियमितता गरेको भन्दै प्रमुख मन्त्रालय तानिए

Logo
नमो आलाईन प्रकाशित आइतबार, चैत्र १४, २०८२

तस्विर : फाईल

इटहरी । इटहरीस्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालयमा स्वास्थ्य परीक्षणसम्बन्धी अनियमितता भेटिएपछि कार्यालय प्रमुख सतीश सत्याललाई मन्त्रालय तानिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले गरेको छड्के अनुगमनमा स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीलाई पास गराइएको भेटिएपछि उक्त निर्णय गरिएको हो। अनुगमन टोलीको नेतृत्व मन्त्रालयका सचिव आस्मान तामाङले गरेका थिए।

अनुगमनले उठाएको मुख्य प्रश्न ‘रिचेक’ पुनः परीक्षण अभ्यासमाथि केन्द्रित छ। आरोपअनुसार सेवाग्राहीसँग आर्थिक लेनदेन गरी फेल भएकालाई पास गराउने चलन रहेको थियो। तर सत्यालले भने आफूले सेवाग्राहीलाई सहज बनाउन ‘रिचेक’ लेखिदिने गरेको दाबी गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीले गरेको छड्के अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएको भेटिएपछि सत्याललाई मन्त्रालयमा तानिएको जानकारी सचिव तामाङले दिए ।

अनियमितता पुष्टि भएपछि कार्यालय प्रमुखको कार्यकक्ष सिल गर्नुका साथै उनलाई मन्त्रालयमा तानिएको ईन्द्रमणि पराजुलीले जानकारी दिए।

यसलाई नियन्त्रण गर्न मन्त्रालयले हालै आफ्नै चिकित्सक नियुक्त गर्ने व्यवस्था सुरु गरेको छ। कोशी प्रदेशका झापा, इटहरी र विराटनगरका कार्यालयमा विशेषज्ञ डाक्टर खटाइएको छ। जसले लाइसेन्सका लागि आवश्यक स्वास्थ्य रिपोर्ट दिने व्यवस्था गरिएको छ।

‘समितिले आइतबारबाट छानबिन सुरु गरिसकेको छ । समितिले आफ्नो काम सकेर २ साताभित्रमा प्रतिवेदन बुझाउने छ । त्यही प्रतिवेदनका आधारमा थप कारबाही अघि बढ्छ,’ तामाङले भने । सत्याललाई मन्त्रालय तानिएपछि वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई यातायात कार्यालयमा निमित्तको जिम्मेवारी दिइएको छ ।

error: Content is protected !!