तस्विर : नमो आलाईन
काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं.–४ का प्रतिनिधि सभा सदस्य ई. दीपक कुमार साहले देशको दिगो विकास र आफ्नो निर्वाचन क्षेत्रको समग्र उन्नतिका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरबारमा विस्तृत छलफल गरेको छ।

छलफलमा राष्ट्रिय आवश्यकता, ऊर्जा आत्मनिर्भरता, क्षेत्रीय विकास, विपद् व्यवस्थापन तथा सामाजिक रूपान्तरणका विविध पक्षहरू समेटिएको थियो।

ऊर्जा आत्मनिर्भरता: समृद्धिको आधार
छलफलका क्रममा सांसद साहले नेपालको आर्थिक विकासको मूल आधार ऊर्जा क्षेत्र रहेको उल्लेख गर्दै तत्काल नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले सोलार ऊर्जा, पम्प स्टोरेज तथा जलाशययुक्त जलविद्युत (Reservoir Hydropower) लाई समेटेर हाइब्रिड मोडेलमार्फत वर्षभरि ऊर्जा उत्पादन सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
वर्षायाममा अत्यधिक उत्पादन भई खेर जाने विद्युत् व्यवस्थापनका लागि आन्तरिक खपत वृद्धि र निर्यातका दीर्घकालीन रणनीति आवश्यक रहेको बताउँदै उहाँले भारत र बङ्गलादेशसँग स्थायी विद्युत् व्यापार सम्झौता गर्नुपर्ने प्रस्ताव गर्नुभयो। साथै, कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत आयोजना शीघ्र कार्यान्वयनमा लैजानुपर्ने र भुटानको सफल मोडेललाई अनुसरण गर्दै जलविद्युत विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो।
ऊर्जा क्षेत्रको समग्र सुधारका लागि आवश्यक परे “ऊर्जा संकटकाल” घोषणा गरेर विशेष कार्यक्रम लागू गर्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
सुनसरी–४ का स्थानीय समस्या समाधानमा केन्द्रित योजना
१. मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण
सुनसरी–४ का ग्रामीण क्षेत्रमा हात्ती, अर्ना तथा जंगली सुँगुरका कारण बाली तथा जनधनमा हुने क्षति न्यूनीकरण गर्न तत्काल प्रभावकारी योजना आवश्यक रहेको सांसद साहले उल्लेख गर्नुभयो। यसका लागि विद्युतीय बार, सुरक्षित आवास, राहत प्रणाली तथा वन व्यवस्थापनलाई सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
२. मुसहर तथा दलित समुदायको जीवनस्तर उकास्ने पहल
दशकौँदेखि सुकुम्बासी जीवन बिताइरहेका मुसहर तथा दलित समुदायको समस्या समाधानलाई प्राथमिकतामा राख्दै उहाँले सुरक्षित आवास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सुनिश्चित गर्न एकीकृत योजना आवश्यक रहेको बताउनुभयो। सामाजिक समावेशीकरण र गरिबी न्यूनीकरणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा उहाँको थियो।
३. बाढी नियन्त्रण र नदी व्यवस्थापन
सुनसरी खोला र कुरुवा खोलाबाट हुने वार्षिक बाढीले जनजीवन प्रभावित भइरहेको सन्दर्भमा स्थायी समाधानको खाँचो रहेको उहाँले बताउनुभयो। तटबन्ध निर्माण, नदी नियन्त्रण, जल निकास व्यवस्थापन तथा दीर्घकालीन जलस्रोत योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
४. गुणस्तरीय शिक्षाका लागि नमुना विद्यालय
शिक्षा क्षेत्रको सुधारलाई दीर्घकालीन विकासको आधार मान्दै सांसद साहले आधुनिक प्रविधियुक्त नमुना विद्यालय स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा पहुँचमा ल्याउन पूर्वाधार, दक्ष शिक्षक तथा प्रविधिको प्रयोग आवश्यक रहेको उहाँको भनाइ थियो।
५. विपद् पूर्वतयारी र व्यवस्थापन
बाढी, आगलागी लगायत प्राकृतिक विपद्का घटनामा पछाडि परेर राहत वितरण गर्ने परम्परालाई अन्त्य गर्दै अग्रिम तयारीलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो। स्थानीय तहसँग सहकार्य गर्दै आपतकालीन पूर्वाधार, उद्धार सामग्री, जनचेतना र तालिमलाई सुदृढ बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो।
“पहिले देश, अनि क्षेत्र” — विकासको साझा प्रतिबद्धता
सांसद साहले देश बलियो नभएसम्म कुनै पनि क्षेत्रको दीर्घकालीन विकास सम्भव नहुने उल्लेख गर्दै राष्ट्रिय समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले सुनसरी–४ लाई पूर्वाधार, शिक्षा, ऊर्जा र सामाजिक विकासका दृष्टिले देशकै नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको स्पष्ट पार्दै यसका लागि जनताको साथ, विश्वास र सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।
छलफल सकारात्मक र परिणाममुखी रहेको जनाउँदै सांसद साहले आगामी दिनमा प्रस्तुत प्रस्तावहरू कार्यान्वयनतर्फ लैजान पहल गरिने विश्वास व्यक्त गर्नुभयो।