काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमार्फत एक युवतीलाई अश्लील गालीगलौज गर्दै आफ्नाे गोप्य अङ्गको फोटो पठाउने र यौन प्रस्ताव राख्ने दुई युवकविरुद्ध कैलाली जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ । पुनर्वास नगरपालिका-११ अमरबस्ती, कञ्चनपुर घर भई हाल धनगढी उप-महानगरपालिका २ बस्ने २५ वर्षीय लोकराज ओझा र सोही ठाउँका २४ वर्षीय नवराज बडुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत केही दिनअघि मात्र मुद्दा दर्ता गरिएको हो।
मिसिलमा उल्लेखित विवरण अनुसार २७ चैत २०८२ को राति करिब ११:४४ बजेको समयमा प्रतिवादी लोकराज ओझाले आफ्नै फेसबुक आईडीबाट पीडित युवतीको मेसेन्जरमा नग्न तस्बिरसति अश्लील मेसेजहरू पठाएका थिए । पीडितले दिएको जाहेरी अनुसार ओझाले ती युवतीलाई नवराज बडूसँग शारीरिक सम्पर्क राखेको भिडिओ आफूसँग सुरक्षित रहेको भन्दै धम्की दिएका थिए ।
उनले सो भिडिओ सार्वजनिक गरिदिने डर देखाउँदै भेट्न बोलाएका थिए र नभेटेको खण्डमा सामाजिक प्रतिष्ठामा आँच पुर्याउने धम्की दिएका थिए । मेसेन्जरमा कुराकानी गर्ने क्रममा ओझाले “तेरो बारेमा सब थाहा छ, रोक् के गर्छु म अब…” भन्दै अत्यन्तै तल्लो स्तरको गालीगलौज समेत गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा प्रतिवादी लोकराज ओझाले आफूले मादक पदार्थ सेवन गरेको बेला लहलहैमा लागेर साथी नवराज बडुको समेत संलग्नतामा यस्तो कार्य गरेको स्वीकार गरेका छन् । उनले युवतीको मेसेन्जरमा आफ्नै यौनाङ्गको फोटो खिचेर पठाएको र अश्लील शब्दहरू प्रयोग गरेको कुरा बयानमा कबुल गरेका छन् ।
अर्का प्रतिवादी नवराज बडुले पीडित युवतीसँग आफ्नो पहिलेदेखि नै फेसबुकमा चिनजान रहेको र मोबाइल नम्बर आदानप्रदान भएको बताएका छन् । उनले ओझाले आफ्नो फोनबाट युवतीसँग भएका कुराकानी हेरेको र त्यसकै आधारमा धम्कीपूर्ण मेसेज पठाएको दाबी गरेका छन् ।
सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोगपत्रमा दुवै प्रतिवादीहरूले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको उल्लेख छ । उक्त ऐन अनुसार प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्रीहरू विद्युतीय माध्यमबाट प्रकाशन वा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै पीडितलाई पुग्न गएको क्षति बापत उचित क्षतिपूर्ति समेत भराउन माग गरिएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का, मेसेन्जरमा गरिएका कुराकानीका स्क्रिनशट र प्रतिवादीहरूको बयानलाई मुख्य प्रमाणको रूपमा अदालतमा पेस गरेको छ । हाल यो मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन रहेको छ ।