तस्विर : फाईल
बिराटनगर । पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा आध्यात्मिक स्थल चतराधाममा वैदिक शिक्षा र आधुनिक शिक्षाको समन्वय गर्ने उद्देश्यसहित “जगतगुरु श्रीरामानन्दाचार्य गुरुकुल” सञ्चालनमा ल्याइएको छ । वराहक्षेत्र नगरपालिका-१ स्थित श्रीरामतारक ब्रह्मपीठ अन्तर्गत स्थापना गरिएको उक्त गुरुकुलको उद्घाटन आइतबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली ले गर्नुभएको हो ।
गुरुकुलमा कक्षा ६ देखि १२ सम्म अंग्रेजी माध्यमबाट अध्ययन गराइने व्यवस्था गरिएको छ । उद्घाटनकै दिनदेखि कक्षा ६ को पढाइ सुरु गरिएको गुरुकुलले आधुनिक शिक्षासँगै वैदिक ज्ञान, संस्कार र अनुशासनलाई प्राथमिकतामा राखेर शिक्षण सञ्चालन गर्ने जनाएको छ ।
श्रीरामानन्दाचार्य सेवा पीठका पीठाधीश तथा संरक्षक रामाकृष्णाचार्य महायोगी सिद्धबाबा को पहलमा स्थापना गरिएको गुरुकुलले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई नैतिकता, सेवा भावना, आध्यात्मिक चेतना र संस्कृतिसँग जोड्ने लक्ष्य राखेको छ । कार्यक्रममा बोल्दै सिद्धबाबाले आधुनिक शिक्षामा संस्कार र नैतिकताको कमी देखिन थालेकाले गुरुकुलीय शिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई सनातन धर्म, संस्कृति र मौलिक परम्परासँग जोड्न वैदिक शिक्षाको महत्त्व उल्लेख गर्दै आधुनिक जीवनशैलीसँग आध्यात्मिक शिक्षालाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मन्त्री पराजुलीले चतराधाम धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकसित भइरहेका बेला गुरुकुलको स्थापना धार्मिक तथा शैक्षिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हराउँदै गएको गुरुकुलीय शिक्षा प्रणालीलाई पुनर्जीवन दिने प्रयासका रूपमा यसलाई सकारात्मक कदमको संज्ञा दिनुभयो ।
गुरुकुलका प्रधानाध्यापक रामहरि ढकाल का अनुसार यहाँ आधुनिक पाठ्यक्रमसँगै योग, ध्यान, संस्कृत, वेद व्याकरण, नैतिक शिक्षा र अनुशासित गुरुकुलीय जीवनशैलीमा आधारित शिक्षण गराइनेछ । विद्यार्थीलाई अंग्रेजी माध्यमबाट शिक्षा दिँदै आफ्नो मौलिक संस्कृतिप्रति जिम्मेवार र सचेत बनाउने लक्ष्य गुरुकुलले लिएको छ ।
चतराधाम क्षेत्रमा धार्मिक महोत्सव, वैदिक अनुष्ठान तथा आध्यात्मिक गतिविधि सञ्चालन गर्दै आएको श्रीरामतारक ब्रह्मपीठले गुरुकुल स्थापना मार्फत शिक्षा क्षेत्रमा पनि नयाँ पहल थालेको स्थानीयवासीको भनाइ छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, विभिन्न धार्मिक व्यक्तित्व, शिक्षाविद्, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।