०२ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

तानिए पत्रकारलाई पैसाको प्रलोभन दिने साहेबगञ्जका इन्स्पेक्टर

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, साउन १४, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज । सशस्त्र प्रहरी बलको सुनसरीस्थित साहेवगञ्ज बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक कारबाहीमा परेका छन् ।

साहेवगञ्ज क्षेत्रबाट अवैध चोरी तस्करीलाई प्रसय गरेको र मिडियालाई पैसाको प्रलोभन देखाएको आरोपमा प्रहरी निरीक्षक एनि कुमार तामाङलाई सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण सुनसरीले जिम्मेवारीबाट हटाउँदै गण तानेको हो ।

तामाङले तस्करीहरूसँग आर्थिक प्रलोभनमा परी तस्करीलाई प्रसय दिएको र त्यस सम्बन्धी भिडियो समाचार हटाउन पत्रकारलाई आर्थिक प्रलोभन देखाएको आधारमा उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेडक्वार्टर सुनसरीले जनाएको छ । उनको ठाउँमा हाल प्रहरी निरीक्षक तुलसीराम कार्कीलाई काजमा पठाइएको छ ।

गण तानिएका तामाङको कार्यसम्पादन समेत सन्तोषजनक नभएको जनाइएको छ । तामाङले विराटनगरबाट सञ्चालित लाइभ न्युज रफ्तारका पत्रकार सोनु दासलाई तस्करी भइरहेको भिडियो समाचार रोक्न पैसाको प्रलोभन देखाएका थिए ।

साहेवगञ्ज प्रहरी निरीक्षक तामाङले तस्करीको मामलामा शङ्कास्पद गतिविधि देखिएको कारण उनलाई जिम्मेवारीबाट तानिएको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका डिआइजी कुमार न्यौपानेले पुष्टि गरे । ‘चोरी तस्करी नियन्त्रणमा वहाँको भूमिकामा कैफियत देखिएपछि गण तानिएको हो’, डिआइजी न्यौपानेले भने ‘सङ्गठनको आचरण विपरीत कार्य गर्ने जो कोहीलाई कारबाहीमा गछौं ।’ उनले चोरी तस्करीको मामलामा कैफियत देखिएका मोरङ रानीका डिएसपी ऋषिकेश राउत र मोरङ सिक्टीका प्रहरी निरीक्षक बिराज कटुवाललाई समेत कारबाही गरिएको जानकारी दिए ।

सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउँदै डिआइजी न्यौपानेले तस्करी नियन्त्रणमा सबैको भूमिका अपरिहार्य हुने बताए ।