२६ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

को हुन् ती व्यक्ति, जसको खुट्टा छोए मोदीले?

Logo
नमो आलाईन प्रकाशित आइतबार, बैशाख २६, २०८३

पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) को नयाँ सरकारको शपथ ग्रहण समारोह बेला प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई झुकेर खुट्टा छोएको घटना अहिले चर्चामा छ।

मोदीले समेत खुट्टा छोएका ती व्यक्ति को हुन् भन्ने सबैलाई चासोको विषय बनेको छ।

कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित शपथ ग्रहण समारोह बेला मोदीले पहिले ती व्यक्तिलाई अँगालो हालेर शल ओढाए, त्यसपछि झुकेर उनका खुट्टा छोए।

ती व्यक्ति हुन्, माखनलाल सरकार।

बिबिसी हिन्दीका अनुसार माखनलाललाई पश्चिम बंगालमा भाजपाका सबभन्दा जेठा कार्यकर्तामध्ये एक मानिन्छ। उनी सन् १९५२ मा श्यामा प्रसाद मुखर्जीको ऐतिहासिक कश्मीर यात्रा क्रममा सँगै थिए। पक्राउ परेपछि उनी मुखर्जीका साथ जेलमै बसेका थिए।

सन् १९८० मा भाजपा स्थापना भएपछि उनले बंगालमा पार्टी र संगठन विस्तार गर्न निकै महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी संगठनको सिलीगुडी जिल्ला शाखाका संस्थापक अध्यक्ष पनि रहे।

सिलीगुडीमा काम गर्ने क्रममा तत्कालीन पश्चिम दिनाजपुर, दार्जिलिङ र जलपाईगुडी जिल्लामा संगठन संयोजकका रूपमा काम गर्दै उनले एक वर्षभित्रै १० हजार नयाँ सदस्य बनाएका थिए।

माखनलालले त्यति बेलादेखि बंगालमा संगठनको काम गर्दै आएका छन्, जब त्यहाँ संघ वा भाजपाको अस्तित्व लगभग नभएकै जस्तो थियो।

प्रदेश भाजपा अध्यक्ष शमिक भट्टाचार्यले गत वर्ष अध्यक्ष पद सम्हालेपछि सिलीगुडीस्थित माखनलालको घरमै पुगेर उनलाई सम्मान गरेका थिए। हाल उनको उमेर करिब ९८ वर्ष पुगेको छ।

सिलीगुडीका एक भाजपा नेता तरूण मण्डल भन्छन्, ‘माखनलाल १९८० को दशकदेखि नै बंगालमा संगठनको यात्राका साक्षी हुन् र यसमा उनको ठूलो भूमिका छ। प्रचार–प्रसारको चमकदमकबाट टाढै रहेर उनी सधैं क्षेत्रमै बसेर संगठनको जरा सिँच्ने र बलियो बनाउने काममा लागिरहे।’

बंगाल चुनावमा भाजपाको जितपछि उनी फेरि चर्चामा आएका थिए।

त्यति बेला पत्रकारहरूसँग कुरा गर्दै उनले सिलीगुडीमा आफूले गौ–हत्या रोक्न सफल भएको दाबी गरेका थिए।

‘बंगालमा भाजपाको यो जितले तपाईं कति खुसी हुनुहुन्छ?’ भन्ने प्रश्नमा उनले भनेका थिए, ‘म अत्यन्तै खुसी छु। मेरो जीवनभरको मेहनत सफल भएको छ।’

उनका अनुसार सिलीगुडी सिटमा शंकर घोषलाई उम्मेदवार बनाउने निर्णय पनि उनले नै गरेका थिए।

‘यदि मैले यस्तो नगरेको भए सिलीगुडीमा भाजपाको जित सम्भव थिएन,’ उनले भने।

प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा भाजपाको पहिलो सरकार गठनको अवसरमा ‘एक्स’ मा पोस्ट पनि गरेका छन्। उक्त पोस्टमा उनले जनसंघका संस्थापक श्यामा प्रसाद मुखर्जी र माखनलाल सरकारको उल्लेख गरेका छन्।

मोदीले लेखेका छन्, ‘आज जब पश्चिम बंगालमा पहिलो भाजपा सरकारले शपथ लिँदैछ, हामी सबैका लागि डा. श्यामा प्रसाद मुखर्जीको राष्ट्रका लागि, विशेष गरी पश्चिम बंगालका लागि गरेको अविश्मरणीय योगदान सम्झनु स्वाभाविक हो। हामी उनका सपना पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनौं।’

‘मैले कोलकाताको शपथ ग्रहण समारोह क्रममा श्री माखनलाल सरकारसँग भेट गरेँ। समर्पित देशभक्त सरकारले डा. मुखर्जीसँग काम गरेका थिए र जम्मू–कश्मीरमा उनीसँगै पक्राउ पनि परेका थिए। उनले पश्चिम बंगालमा हाम्रो पार्टीको आधार मजबुत बनाउन र समाजका हरेक वर्गका मानिसलाई पार्टीसँग जोड्न आफ्नो जीवन समर्पित गरेका छन्।’

उनी अगाडि लेख्छन्, ‘भाजपा कार्यकर्ताका रूपमा हामीलाई गर्व छ, हाम्रो पार्टीमा यस्ता प्रेरणादायक व्यक्तित्वहरू छन्, जसले जनताबीच बसेर पार्टीलाई बलियो बनाएका छन्।’

शनिबार शुभेन्दु अधिकारीले पश्चिम बंगालका मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह लगायतका नेताहरूको उपस्थितिमा बांग्ला भाषामा शपथ लिएका हुन्।

उनसँगै दिलीप घोष, अग्निमित्रा पाल, अशोक कीर्तनिया, खुदीराम टुडू र निशिथ प्रमाणिकले पनि मन्त्री पदको शपथ लिएका छन्। यो पश्चिम बंगालमा भाजपाको पहिलो सरकार हो।

शुक्रबार केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको विधायक दलको बैठकले शुभेन्दु अधिकारीलाई भाजपा विधायक दलको नेता चयन गरेको थियो।

त्यसपछि शुक्रबार साँझ उनले राज्यपालसँग भेटेर सरकार गठनको दाबी पेस गरेका थिए। यससँगै राज्यमा पहिलो पटक भाजपा सरकार गठन भएको हो।

मे ४ मा सार्वजनिक भएको विधानसभा चुनावको नतिजाअनुसार, २९३ मध्ये २०७ सिटमा भाजपाले जित हासिल गरेको थियो।

 

error: Content is protected !!